जनता टाइम्स

३ कार्तिक २०७८, बुधबार १३:३५

पाँचथर पहिरोमा परी ज्यान गुमाउनेको संख्या ७ पुग्यो, मेची र पुष्पलाल मध्यपहाडी लोकमार्गको दर्जनौं स्थानमा पहिरो


पाँचथर, कात्तिक ३ । अविरल वर्षासँगै गएको पहिरोमा परी पाँचथरमा ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । पहिरोमा परी २ जना बेपत्ता भएका छन् भने दर्जनभन्दा धेरै परिवार विस्थापित भएका छन् ।

जिल्ला प्हरी कार्याल्य पाँचथरका अनुसार फिदिम–४ की २५ वर्षीया ममता मगर र उनका ४ वर्षीय छोराको घरमाथिबाट आएको पहिरोमा पुरिएर मृत्यु भएको छ । यसैगरी कुम्मायक गाउँपालिका–२ माङ्जावुङकी ४० वर्षीया डम्बरकुमारी शेर्मा, मिक्लाजुङ–४ का ६५ वर्षीय धनबहादुर लावती, फाल्गुनन्द गाउँपालिकाका २८ वर्षीय फुर्वा तामाङको पहिरोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै मिक्लाजुङ–५ र फाल्गुनन्द ४मा एक–एक जनाको मृत्यु भएको छ । उनीहरुको भने सनाखत हुन सकेको छैन । मिक्लाजुङ–४ र फाल्गुनन्द–१ एक गरी दुई जना बेपत्ता छन् ।

अत्यधिक पानी परेपछि मेची राजमार्गको इलाम फिदिम र फिदिम–ताप्लेजुङ तथा पुष्पलाल मध्यपहाडी लोकमार्गको पाँचथर खण्डका दर्जनभन्दा धेरै स्थानमा पहिरो गएको छ ।