जनता टाइम्स

२२ आश्विन २०८३, बिहीबार १४:२२

एमाले वरिष्ठ नेता विद्या भण्डारीले लिइन् शपथ, पार्टी अध्यक्ष केपी ओलीले गराए पद तथा गाेपनियताकाे शपथ


काठमाडौं, असाेज २२। नेकपा एमालेकी वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्या भण्डारीले शपथ लिनुभएको छ। पार्टीको केन्द्रीय कार्यालय च्यासलमा जारी स्थायी कमिटीको पहिलो बैठक सुरु हुनुअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले उहाँलाई शपथ गराउनुभएको हो।

एमालेको हालै सम्पन्न केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीको वरिष्ठ नेतामा मनोनीत गरेको थियो। वरिष्ठ नेतामा मनोनीत भएपछि उहाँ आज पहिलोपटक पार्टीको औपचारिक बैठकमा सहभागी हुनुभएको हो।

स्थायी कमिटीको पहिलो बैठकमा सहभागी हुनुअघि अध्यक्ष ओलीबाट शपथ लिएपछि भण्डारी बैठकमा सहभागी हुनुभएको हो। उहाँको सहभागितासँगै महाधिवेशनपछि एमालेको नयाँ सांगठनिक संरचनाअन्तर्गत स्थायी कमिटीको बैठक अघि बढेको छ।

बैठकमा पार्टीको आगामी राजनीतिक तथा सांगठनिक कार्यदिशा, समसामयिक राजनीतिक अवस्था र संगठनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल हुने बताइएको छ। साथै, आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै पार्टीले अपनाउने रणनीति तथा तयारीका विषयमा समेत बैठकमा छलफल हुने जनाइएको छ।

पूर्वराष्ट्रपति भण्डारी लामो समयपछि पार्टीको सक्रिय सांगठनिक भूमिकामा फर्किनुभएको हो।