काठमाडौं, असोज २२। नेकपा एमालेको ११औँ महाधिवेशनपछि गठन भएको नयाँ स्थायी कमिटीको पहिलो बैठक सुरु भएको छ। पार्टीको केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघिदेखि सुरु भएको बैठकमा पार्टीको आगामी राजनीतिक तथा सांगठनिक दिशाबारे महत्वपूर्ण छलफल हुने बताइएको छ।
नयाँ स्थायी कमिटी गठन भएपछि बसेको पहिलो बैठकमा पूर्वराष्ट्रपति एवं वरिष्ठ नेता विद्यादेवी भण्डारी पहिलोपटक सहभागी हुनुभएको छ। उहाँको सहभागितालाई एमालेभित्रको पछिल्लो राजनीतिक तथा सांगठनिक समीकरणका दृष्टिले समेत अर्थपूर्ण रूपमा हेरिएको छ।
हालै सम्पन्न केन्द्रीय कमिटी बैठकले ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, काशीनाथ अधिकारी, देवराज घिमिरे, शिवमाया तुम्बाहाम्फे, लालबाबु पण्डित र थममाया थापालाई स्थायी कमिटी सदस्यमा चयन गरेको थियो। महाधिवेशनपछि नयाँ संरचनासहित अघि बढिरहेको एमालेको स्थायी कमिटी बैठकले अब पार्टी सञ्चालनका प्राथमिकता र आगामी राजनीतिक रणनीतिलाई थप स्पष्ट पार्ने अपेक्षा गरिएको छ।

बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति, पछिल्लो राजनीतिक घटनाक्रम तथा त्यसले पार्टीमा पार्ने प्रभावका विषयमा छलफल हुने जनाइएको छ। साथै, बदलिँदो राजनीतिक परिस्थितिअनुसार पार्टीले लिनुपर्ने आगामी कार्यदिशाबारे पनि नेताहरूबीच धारणा आदानप्रदान हुने बताइएको छ।
त्यसैगरी, पार्टीको सांगठनिक गतिविधिलाई थप प्रभावकारी बनाउने, संगठन विस्तार तथा जनस्तरसम्म पार्टीको उपस्थिति बलियो बनाउने विषय पनि बैठकको एजेन्डामा रहनेछ।
स्थायी कमिटी बैठकले आगामी स्थानीय तह निर्वाचनको तयारीका विषयमा समेत आवश्यक निर्णय गर्ने तयारी गरेको छ। निर्वाचनलाई लक्षित गर्दै संगठन परिचालन, स्थानीय तहमा पार्टीको अवस्थाको समीक्षा तथा आगामी रणनीति तय गर्ने विषयमा बैठक केन्द्रित हुने एमाले नेताहरूले बताएका छन्।

११औँ महाधिवेशनपछि पार्टीको नयाँ नेतृत्व र संरचनाले औपचारिक रूपमा काम अघि बढाइरहेका बेला बसिरहेको स्थायी कमिटीको यो पहिलो बैठकलाई एमालेको आगामी राजनीतिक यात्राको दिशा तय गर्ने महत्वपूर्ण बैठकका रूपमा हेरिएको छ।












प्रतिक्रिया दिनुहोस्