जनता टाइम्स

३ कार्तिक २०७८, बुधबार १७:४७

माधवलाई ठूलो झडका, एमालेमै फर्किए तीन केन्द्रीय सदस्य


काठमाडौं, कात्तिक ३ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका तीन जना केन्द्रीय सदस्य एमालेमै फर्किनु भएको छ । माधवले केन्द्रीय सदस्य बनाएर जिम्मेवारीसमेत दिनुभएका रामेछापका झम्क कँडेल, ललितपुरका प्रेम महर्जन र मिठाराम केसी एमालेमै फर्किनु भएको हो ।

उहाँहरुलाई नेकपा एकीकृत समाजवादीले बिस्तारित ३ सय ३५ सदस्यीय केन्द्रीय कमिटीमा समेटेर कार्यविभाजन गरेको थियो । एमाले बागमति प्रदेशका अध्यक्ष आनन्दप्रसाद पोखरेलका अनुसार तीनैजना नेता आज आयोजित एमालेको वागमती प्रदेश कमिटी बैठकमा सहभागी हुनुभएको छ ।

तीनै जना नेता माधवको केन्द्रीय सदस्य भन्दा एमालेको प्रदेश सदस्य नै राम्रो भन्दै एमालेमै फर्कनुभएको हो । उहाँहरु एमालेको प्रदेश कमिटी सदस्यमा हुनुहुन्थ्यो । माधवले जिम्मेवारी दिएको पाँच दिनमै तीनै जना नेता नेकपा एसको जिम्मेवारी छाडेर एमालेको प्रदेश कमिटीमा सक्रिय हुनुभएको पोखरेलले बताउनु भयो । नेकपा एसले कँडेललाई रामेछाप जिल्लाको सहइञ्चार्ज बनाएको थियो ।

महर्जनलाई नेकपा एसले केन्द्रीय सदस्य बनाएर ललितपुर महानगर इन्चार्जको जिम्मेवारी दिएको थियो भने केसी केन्द्रीय सल्लाहल्कार हुनुहुन्थ्यो । महर्जन वि सं २०४९ र ०५४ को निर्वाचनमा ललितपुर महानगर वडा नं ८ को वडाध्यक्षमा समेत निर्वाचित हुनुभएको थियो भने एमाले र माओवादी पार्टी एकीकरण भएर नेकपा बन्नुपूर्व साविक एमालेको ललितपुर २ नं क्षेत्रीय अध्यक्ष (दुई कार्यकाल) तथा जिल्ला कमिटि सदस्य रही काम गर्नुभएको थियो । यसैगरी साविक एमालेमा राष्ट्रिय परिषद सदस्य रहेका लेलेका मिठाराम केसी २०५४ सालको स्थानीय निर्वाचनमा साविक लेले गाविसको अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

यसअघि सुरुमा नेकपा यसलाई समर्थन गरेका र समानातर कमिटीमा लागेका समानान्तर कमिटीमा रहेका साविक पार्टी उपाध्यक्ष कृष्णमान लामा,उपसचिव तारा सञ्जेल,प्रदेश कमिटि सदस्यहरु चिरन्जीवी आचार्य,प्रेमभक्त महर्जन,पार्टीनिकट यातायात मजदुर संगठनका महासचिव नवराज घिमिरे लगायतका नेताहरु समेत एमालेमै फर्किनु भएको छ ।