काठमाडौं, कार्तिक ४। राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले प्रमुख राजनीतिक दल र यसका शीर्ष नेताहरु लोकतन्त्रको आचरणअनुसार चल्न नसकेको टिप्पणी गर्नुभएको छ । उहाँले लोकतन्त्र बलियो बनाउनको लागि योग्यताक्रम, जवाफदेहीता, पारदर्शीता, उपयुक्त व्यक्तिलाई उपयुक्त स्थान, पुरस्कार र दण्डको व्यवस्था हुनुपर्ने बताउनुभयो । तर, नेपालमा पछिल्लो समय योग्यताभन्दापनि आफ्नो मान्छे भर्ती गर्ने, नियुक्ती गर्ने परिपाटी देखिएको भन्दै उहाँले गुनासो ब्यक्त गर्नुभयो ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सय दिन पुगेको अवसरमा बुधबार आयोजना गरेको विशेष कार्यक्रममा बोल्दै डा. केसीले यो सरकारको बढिमा कार्यकाल १३ महिना भएको दावी गर्नुभयो । तर, यसअघि राजदूत बनाएर पठाएकाहरुलाई धमाधम फिर्ता बोलाउने काम गरिएको भन्दै उहाँले यसरी कसरी राम्रो सन्देश जान्छ त ? भन्दै प्रश्नसमेत गर्नुभयो । उहाँले भन्नुभयो ,‘म त गठबन्धनको कार्यशैली हेर्दा फेरि केपी ओलीको पूनरावृत्ति हुने देख्छु । अबको निर्वाचनपछि सरकार हाक्ने पालो कांग्रेसको थियो । अहिले त कस्तो भयो भने प्रतिपक्षीमा बस्ने सत्तामा गयो । सत्तामा बस्ने प्रतिपक्षमा गयो ।’
पछिल्लो समय मुलुकमा जेठान काण्ड भएको उल्लेख गर्दै फेरि सम्धी काण्ड हुन लागेको बताउनुभयो । उहाँले देश बनाउको लागि र विधिमा हिँडाउनको लागि लोकतन्त्रको चुरो समात्नुपर्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो ,‘लोकतन्त्रको चूरो कुरा भनेको योग्यताक्रम, जवाफदेहीता, पारदर्शीता, उपयुक्त व्यक्ति उपयुक्त स्थान, पुरस्कार र दण्डको व्यवस्था हुनुपर्छ । मिनिमम कुरामा मतएकता चाहिन्छ। सामाजिक सद्भाव र सुशासनमा मत एकता हुनुपर्छ ।’
लोकतन्त्र भन्दैमा कहाँ नाङ्गै नाच्न पाईन्छ ? ’ अहिले मुलुकमा १७ खर्बको ऋण रहेको पनि उहाँले तथ्यांक प्रस्तुत गर्नुभयो । उहाँले ‘हामीसँग साँढे १६ खर्बका बजेट छ । ११ खर्बको त व्यापार घाटा छ । ६ खर्बको बेरुजु छ । यस्तो अवस्थामा कसरी अघि बढ्न सक्छौं त ? आजको प्रश्न त यो हो नि । सरकारी तथ्यांकअनुसार ५२ लाख युवा वैदेशिक रोजगारीमा छन् । यो सरकारी आँकडा हो, मलाई एक करोडको हाराहारीमा होलान जस्तो लाग्छ । मुलुकलाई वैदेशिक ऋणको दुश्चक्रमा राख्नुहुँदैन् ।’
उहाँले अहिले सिंगो अदालतमाथि प्रश्न उठेको पनि टिप्पणी गर्नुभयो । उहाले भन्नुभयो – जेठानमन्त्री बने, पछि राजीनामा दिए । अब सम्धीलाई राजदूत बनाउने कुरा हुँदैछ ।’ उहाँले सांसद, पार्टी पदाधिकारी, मन्त्री, तथा प्रधानमन्त्री दुई चोटी मात्रै हुन पाउने व्यवस्था गर्नुपर्ने र यसको लागि नेताहरुले पहल लिनुपर्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो तपाईँहरु यसको लागि लड्नुहोस ।’ उहाँले अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीको ग्राफ माथि जाने पनि विश्लेषण गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्