जनता टाइम्स

४ कार्तिक २०७८, बिहीबार १०:३१

नेपाली फिल्ममा सुनिल शेट्टीको इन्ट्री


काठमाडौं, कात्तिक ४ । बलिउड अभिनेता सुनिल शेट्टीले नेपाली फिल्ममा अभिनय गर्ने भएका छन् । उनले मुकुन्द भट्टको निर्देशनमा तयार हुने फिल्म ‘एक्स नाइन’ मा अभिनय गर्ने तय भएको हो ।

यसबारे निर्देशक भट्टले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ । उहाँले सुनिललाई टीममा स्वागत गर्न पाउँदा खुसी व्यक्त गर्दै छिट्टै वृहत रुपमा घोषणा गर्ने बताउनु भयो । ‘तपाईँसँग निर्देशकको रुपमा काम गर्न पाउनेमा खुसी छुँ, स्वागत छ हाम्रो नेपालमा,’ भट्टले लेख्नुभएको छ । उहाँले फिल्म आउँदो वर्ष २०७९ को दसैँमा प्रदर्शन गरिने घोषणा समेत गर्नुभएको छ ।

केही दिन अघि निर्देशक भट्टले सुनिललाई मुम्बईस्थित उहाँकै अफिसमा भेटेर फिल्म अफर गर्नुभएको थियो । त्यस बेला सुनिल सकारात्मक रहेको प्रतिक्रिया उहाँले दिनुभएको छ । ‘सुनिल सरले नेपालमा पनि यस किसिमको फिल्म बन्छ ? भनेर प्रश्न गर्नु भयो,’ निर्देशक भट्टले भन्नुभयो, ‘उहाँले हाम्रो सोच र टीमको उद्देश्यलाई हौसला प्रदान गर्नुभयो ।’ निर्देशक भट्टको अनुसार सुनिलको छायाँकन १० दिनको हुनेछ । उनले ५ दिन नेपाल र ५ दिन सक्टल्याण्डमा छायाँकन गर्नेछन् ।

फिल्ममा अनमोल केसी, अनुपविक्रम शाही, नविन लम्साल, प्रियंका थापा, पुष्प खड्का, राज कटवाल लगायत कलाकारको अभिनय रहनेछ ।

एक्सन जनरमा फिल्म निर्देशन गरिरहेका मुकुन्दले अनमोललाई एक्सन स्टारको रुपमा देखाउने तयारीमा छन् । अनमोल पनि ुकृु पछि एक्सन अवतारमा प्रस्तुत हुने तयारीमा छन् । फिल्मको तिहारपछि सुटिङ सुरु गर्ने तयारीमा निर्माण पक्षको छ ।