जनता टाइम्स

४ कार्तिक २०७८, बिहीबार १३:४१

काठमाडौं प्रहरीको उत्कृष्ट काम, छापाखाना संचालकको हत्या गरेर भागेका आरोपी १७ वर्षपछि पक्राउ


काठमाडौं, ४ कार्तिक । प्रहरीले १७ वर्षअघि काठमाडौंको पुतलीसडकमा भएको हत्याका अभियुक्तलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले हत्या आरोपी शनी नरसिंह राणालाई पक्राउ गरेको हो ।

परिसरको टोलीले राणालाई म्हेपी क्षेत्रबाट पक्राउ गरेको जनाएको छ । उनी प्युठानका हुन् । राणासहितको टोलीले २२ पुस २०६१ मा पुतलीसडक स्थित एकता प्रेस छापाखानाका संचालक दोलखाका अर्जुन भन्ने खिमबहादुर शिवाकोटीलाई पार्किङको बिषयमा विवाद हुँदा हेलमेट, फलामको रड र चिया पकाउने भाडो समेत हानेर घाइते बनाएका थिए ।

शिवाकोटीको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।प्रहरीले त्यतीबेला घटनामा संलग्न व्यक्तिहरु खोजतलास तथा अनुसन्धान गर्ने क्रममा बा १६ प ८६५४ नम्बरको बुलेट मोटरसाईकलमा आएका ब्यक्तिहरु घटनामा संलग्न रहेको खुलेको थियो ।प्रहरीले राणाबिरुद्ध वृत्त सिहदरवारवाट कर्तव्य ज्यानमुद्दामा आवश्यक अनुसन्धान गरिरहेको छ ।

परिसर प्रमुख एसएसपी अशोक सिंहले घटनामा प्रयोग भएको मोटरसाइकल धनी ईश्वरी राणा र गोरखाका धन बहादुर गुरुङ्गको खोजी भइरहेको जानकारी दिनुभयो ।उहाँका अनुसार यी दुई समेत शिवाकोटी हत्याकाण्डमा संलग्न रहेको अनुसन्धानमा खुलेको छ ।