जनता टाइम्स

४ कार्तिक २०७८, बिहीबार २१:०६

प्रधानमन्त्रीले देखाए राजाको शैली, राहतको साटो बाढीपीडितलाई धम्क्यार फर्किए


कञ्चनपुर, कात्तिक ४ । बाढीपहिरो पीडितको अवस्था बुझ्न सुदूरपश्चिम भ्रमणका क्रममा कञ्चनपुरको दोधाराचाँदनी आइपुग्नु भएका प्रधानमन्त्री शेरबहादुर देउवा राहतको साटो पीडितसँगै झोक्किनु भएको छ । बिहीवार साँझ दोधाराको अम्बिका माध्यमिक विद्यालयमा बाढीपीडितलाई सम्बोधन गर्न आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले बढदा बोल्दै हुनुहुन्छ भन्दै राहतको साटो धम्की दिनुभएको हो ।

सो कार्यक्रममा प्रधानमन्त्री देउवा लगभग एक मिनेट मात्रै बोल्नुभएको थियो । उहाँले सम्बोधनमा क्रममा भन्नुभयो, ‘क्षतिपूर्तिको विवरण संकलन गरेर छिटो काठमाडौं पठाएपछि यसबारेमा निर्णय लिन्छु ।’

प्रधानमन्त्री देउवाले बोल्दाबोल्दै कार्यक्रमका एक जना सहभागी बोल्न थालेपछि उहाँले ती व्यक्तितर्फ औंला देखाउँदै भन्नुभयो , ‘ए भाइ सुन्नुस्, तपाईं बढ्ता बोल्दै हुनुहुन्छ ।’ प्रधानमन्त्री देउवा सुर्खेत, डोटी, बझाङ, बैतडी र डडेल्धुरा हुँदै कञ्चनपुर पुग्नुभएको थियो । उहाँ अधिकांश जिल्लामा हवाइ निरीक्षण गरेर पीडितसामू नपुगी सुरक्षा निकायको ब्रिफिङ लिएर फर्कनु भएको छ ।