जनता टाइम्स

५ कार्तिक २०७८, शुक्रबार १०:०७

गैरजिम्मेवार प्रधानमन्त्री : धेरै क्षति भएका क्षेत्रमा गएनन, घन्टौं हिँडेर दुःख पोख्न आएका पीडितलाई भेटै दिएनन


धनगढी, कात्तिक ५ । प्रधानमन्त्री शेरबहादुर देउवा आउने खबर पाएपछि पहिरोबाट विस्थापित डोटी कोइरेलीका ३० पीडित दुई घन्टा पैदल र एक घन्टा बस चढेर दुःख बिसाउन भोकभोकै दिपायलस्थित सेनाको ५ नम्बर बाहिनी आइपुगे । त्यहा आउनेमा अधिकांश महिला थिए । तर, ब्यारेकभित्र जिल्लाका ठूलाबडासँग छलफल गरी प्रधानमन्त्री गेटबाहिरको चिसो भुइँमा कुरिरहेका पीडितलाई भेटै नदिई बझाङतर्फ उडनुभयोे । पौने घन्टा ब्यारेकबाहिर कुरेका पीडित प्रधानमन्त्री देउवाको यो शैली देखेर राहत होइन, निराश बनेर फर्किए ।

डोटीबाट उडनुभएका प्रधानमन्त्री देउवा बझाङको चैनपुरस्थित सेनाको ब्यारेकमा उत्रनुभयो । त्यहाँ पनि उहाँले पीडितलाई भेटनै चाहनु भएन । सुरक्षा निकायका प्रमुख र जनप्रतिनिधिलगायतलाई भेटेर प्रभावित क्षेत्रको हवाई निरीक्षण गर्नुभयो । जब कि प्रधानमन्त्री आउने सुनेर धेरै मानवीय क्षति भएका थलारा र खप्तडछान्नाका पीडित स्थानीय विद्यालयमा भेला भएका थिए । प्रधानमन्त्रीको यो शैलीपछि उनीहरू पनि निराश बनेर फर्किए ।

यी दुई घटना प्रधानमन्त्री शेरबहादुर देउवाको बाढी पहिरो प्रभावित क्षेत्र सुदुरपश्चिम प्रदेश भ्रमण बुझाउने दृष्य हुन । ठूलो दलबलसहित हेलिकोप्टरमा सवार हुनुभएका प्रधानमन्त्री देउवाले भ्रमणको क्रममा पीडितलाई अनुहारसमेत नदेखाइ हिडनु भएको छ । बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि भन्दै बिहीबार हेलिकोप्टरमा सुदूरपश्चिम आइपुग्नु भएका प्रधानमन्त्री देउवा सबैभन्दा बढी क्षति व्यहोरेका डोटी र बझाङका पीडितलाई भेट्दै नभेटी फर्किनु भएको छ । पहिरोबाट विस्थापित पीडित नै गाउँबाट घन्टौँ हिँडेर सदरमुकाम आउँदासमेत प्रधानमन्त्री देउवाले भेट नदिई हेलिकोप्टर चढेर हिढनु भएको हो ।

प्रधानमन्त्री आउने खबर पाएपछि पहिरोबाट विस्थापित डोटीको दिपायल–सिलगढी नगरपालिका– ७ कोइरेलीका ३० पीडित दुःख बिसाउन बिहान भोकभोकै हिँडेर राजपुरस्थित नेपाली सेनाको ५ नम्बर बाहिनी पुगेका थिए । समूहमा अधिकांश महिला थिए । दुई घन्टा पैदल र एक घन्टा नगरपालिकाले नै उपलब्ध गराइदिएको बसमा चढेर उनीहरू ११ः३० बजे राजपुर पुगे ।

प्रधानमन्त्री देउवा ११ बजे नै ब्यारेकमा उत्रिइसक्नु भएको थियो  । उहाँ भित्र सिडिओ, सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि र स्थानीय नेताहरूसँग छलफल गर्दै गर्दा पहिरोपीडित भने मनभरि संगालेका दुःख प्रधानमन्त्रीलाई सुनाउन ब्यारेकबाहिर चिसो भुइँमा प्रतीक्षारत थिए । १२ः१५ बजे प्रधानमन्त्रीले ब्यारेकभित्रको छलफल टुंग्याउनु भयो तर, पीडितलाई भेटनु भएन । सीधै हेलिकोप्टर चढेर बझाङका लागि उडनुभयो । जब कि उहाँलाई ब्यारेकबाहिर पीडितहरू कुरिरहेको जानकारी गराइएको थियो । आफूहरूलाई बेवास्ता गर्दै प्रधानमन्त्री देउवा उडेपछि पौने घन्टादेखि कुरिरहेका पीडित निराश बनेर घर फर्किए । प्रधानमन्त्रीको अनुहारसमेत देख्न नपाएपछि सवै सरकारबाट आश छैन भन्दै मन मारेर हिडे ।

डोटीले कोइरेली गाउँ यसपालिको अविरल वर्षामा कोइरेली फेरि पहिरोको चपेटामा परेपछि ५० परिवार विस्थापित भएर स्थानीय दुर्गा आधारभूत विद्यालयमा आश्रय लिइरहेका छन । बाढीपहिरोकै विषयमा निरीक्षणमा आएका वेला आफ्ना समस्या सुनाउन पाए समाधान गरिदिने आशा लिएर उनीहरू प्रधानमन्त्रीलाई भेट्न आएका थिए । तर प्रधानमन्त्रीलाई पीडितको कुरा सुन्ने त के अनुहार देखाउने समय पनि भएन ।

प्रधानमन्त्रीले सूचना नै नपाएर कोइरेलीका पहिरोपीडितलाई नभेटनु भएको होइन । उनीहरू आइपुग्नुअघि नै दिपायल–सिलगढी नगरपालिकाकी मेयर मञ्जु मलासीले पीडितहरू आउँदै गरेको जानकारी प्रधानमन्त्रीलाई ब्यारेकभित्रको छलफलकै क्रममा दिनुभएको थियो ।
चार दिनको अविरल वर्षापछि आएको बाढीपहिरोबाट सुदूरपश्चिममा सबैभन्दा बढी क्षति डोटीमै भएको छ । डोटीमा मात्रै पहिरोमा पुरिएर १६ जनाको मृत्यु भएको छ, एकजना बेपत्ता छन । प्रभावित क्षेत्र निरीक्षणका लागि भन्दै सुरुमा डोटी नै आइपुग्नु भएका प्रधानमन्त्री सदरमुकामबाहेक अन्त जानु भएन । प्रभावित क्षेत्रको हवाई निरीक्षण पनि गर्नुभएन  ।

डोटीबाट उडेपछि प्रधानमन्त्री बझाङ सदरमुकाम चैनपुरस्थित नेपाली सेनाको पानकोट ब्यारेकमा पुग्नुभयो । सुरक्षा निकायका प्रमुख र जनप्रतिनिधिलगायतसँग छलफल गरेपछि हेलिकोप्टरमै प्रभावित क्षेत्र निरीक्षणमा निस्किनुभयो । तर, पीडितलाई भेटनु भएन । जिल्लामा सबैभन्दा धेरै मानवीय क्षति भएको थलारा र खप्तडछान्ना गाउँपालिकाका स्थानीय प्रधानमन्त्री आउने खबर सुनेर विद्यालयमा भेला भएका थिए । तर, प्रधानमन्त्री आकाशबाटै निरीक्षण गरेर हिँडेपछि पहिरोपीडित परिवार निराश बने । पहिरोमा पुरिएर थलारामा दुईजनाको मृत्यु भएको छ भने २१ जना तीन दिनदेखि बेपत्ता छन । बझाङ जिल्लाभर पहिरोमा परेर आठजनाको मृत्यु भएको छ ।

बैतडीमा प्रभावित क्षेत्र पुगे तर पीडितका गुनासा सुनेनन

बैतडीको सिगास गाउँपालिका– ५ ढुंगाड बस्तीका पीडितले प्रधानमन्त्रीसँग आफ्ना दुःख सुनाउन नपाएको गुनासो गरेका छन । बिहीबार दिउँसो १ बजेर ३० मिनेटमा ढुंगाड ओर्लिनु भएका प्रधानमन्त्रीले करिब २० मिनेट त्यहाँ बिताउनु भयो । तर, प्रधानमन्त्रीले आफूहरूको पीडा नसुनेको उनीहरूको गुनासो छ ।

गत सोमबार रातिबाट सेती नदीमा आएको बाढीले दुईतिरबाट कटान गरेपछि ६० स्थानीय ६० घन्टासम्म टापुमा परिणत ढुंगाड बस्तीमा थुनिएका थिए । बुधबार बिहान नदीको बहाव घटेपछि मात्रै उनीहरू बस्तीबाट बाहिर निस्किएका थिए । तिनै पीडितलाई भेट्न भन्दै प्रधानमन्त्री बिहीबार ढुंगाड पुग्नुभएको थियो । तर, कुरै नसनी फर्कनुभएको छ ।