जनता टाइम्स

५ कार्तिक २०७८, शुक्रबार १२:४६

सिन्धुपाल्चोक माओवादीमा पहिरो, सिंगो बस्तीका सबै नेता–कार्यकर्ता एमाले प्रवेश


सिन्धुपाल्चोक, कात्तिक ५ । सिन्धुपाल्चोकमा नेकपा माओवादी केन्द्रमा ठूलो भूकम्प गएको छ । पुष्पकमल दाहाल, प्रचण्डले नेपाली कांग्रेसको पुच्छर बनेर कम्युनिष्ट आन्दोलन र मुलुकको समृद्धिबिरुद्ध उभिएको निश्कर्षसहित सिंगो गाउँका सवै माओवादी नेता कार्यकर्ता एमाले प्रवेश गरेपछि माओवादीमा भूकम्प नै गएको हो ।

एमालेले कात्तिक ६ गते सिन्धुपाल्चोकका १०३ वडामा एकैसाथ अधिवेशनको तयारी अघि बढाउँदा भएको छलफलमा माओवादीका एउटा गाउँका सवै एमाले प्रवेश गरेका छन । बलेफी गाउँपालिका– ७ चिम्लीङमा भएको भेलामा सिंगो बस्तीका सबै नै एमालेमा प्रवेश गरेका हुन ।

यसअघि माओवादी केन्द्रमा रहेका दलित बस्तीका सबै स्थानीय एमालेमा प्रवेश गरेका हुएमाले नेता केदार क्षेत्रीले जानकारी दिनुभएको छ । आज बिहान दलित बस्तीमा भएको भेटघाट र छलफलपछि सबै नै एमालेको विचार र सिद्धान्तप्रति प्रतिबद्ध हुँदै एमालेमा प्रवेश गरेको नेकपा एमाले वागमती प्रदेश कमिटीका सदस्य एवम बलेफी गाउँपालिका अध्यक्षसमेत रहनु भएका क्षेत्रीले जानकारी दिनुभयो ।

माओवादी केन्द्रमा रहेका उनीहरु सबै एमालेमा प्रवेश गरेपछि बलेफी–७ मा आफूहरुको संगठन अब पहिलाको भन्दा झन् बलियो भएको क्षेत्रीले बताउनुभयो । नवप्रवेशीहरुलाई क्षत्रीले खादा, अबिर लगाएर एमालेमा प्रवेश गराउनुभएको हो ।

एमाले भित्रको अन्तरविरोध साम्य भएपछि बलेफीका विभिन्न वडाहरुबाट कांग्रेस, माओवादीलगायतका दलबाट एमालेमा हालसम्म करिब ३ सय प्रवेश गरेको क्षत्रीले बताउनु भयो । क्षेत्रीका अनुसार वडा अधिवेशनमा पनि सबै वडाहरुबाट विभिन्न पार्टी परित्याग गरेर एमालेमा प्रवेश गर्नेहरुको सूची लामो रहेको छ ।

पार्टीमा समस्या हुँदा केही समय आफूहरु पार्टीको काममा सक्रिय हुन नपाएको र अहिले नेकपा एमाले एकताबद्ध भएपछि एकताको सन्देश लिएर गाउँगाउँमा पुग्दा स्थानीय उत्साही भएको क्षेत्रीले बताउनुभयो ।