जनता टाइम्स

५ कार्तिक २०७८, शुक्रबार १७:५१

एआइजीमाथि छानविन गर्न एआइजीकै नेतृत्वमा बन्यो समिति


काठमाडौं, कात्तिक ५ । प्रहरी महानिरीक्षक (आइजीपी) शैलेश थापा क्षेत्रीले नेपाल प्रहरीको अस्पतालकी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजीपी) डा. आशा सिंहमाथि छानविन गर्न समिति गठन गर्नुभएको छ ।

प्रहरी अस्पतालमा स्वास्थ्य सामग्री र उपकारण खरिद गर्दा भ्रष्टाचार भएको उजुरीपछि छानविन गर्न अर्का एआइजीकै नेतृत्वमा समिति गठन भएको हो । आइजीपी क्षेत्रीले अस्पताल प्रमुख सिंहसहित भ्रष्टाचारको बिषयमा अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयको मानवस्रोत तथा प्रशासन विभागका एआईजी विश्वराज पोखरेलको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गर्नुभएको हो ।

समितिको सदस्यमा महानिरीक्षकको कार्यालयका प्रहरी नायव महानिरीक्षक (डिआइजीपी) वसन्त लामा, प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) द्वय पूजा सिंह र भीम ढकाल र कानुन शाखाका प्रहरी नायव उपरीक्षक (डीएसपी) ज्ञानेन्द्र बस्नेत रहनुभएको छ । समितिले छानविनको काम अघि बढाइसकेको छ । प्रहरीका अनुसार आइसोलेसन वार्ड बनाउँदा र पिसिआर मेसिन लगायत खरिद गर्दा भ्रष्टाचार भएको उजुरी परेको छ ।