जनता टाइम्स

६ कार्तिक २०७८, शनिबार १२:५६

अध्यक्ष ओलीले गरे एमालेको ६७४३ ओटै वडा अधिवेशन उद्घाटन (भिडियोसहित)


काठमाडौं, कात्तिक ५ । नेकपा (एमाले) को आज मुलुकभर वडास्तरका अधिवेशन शुरु भएको छ । थापाथलीस्थित केन्द्रीय कार्यलमा आयोजित एक समारोहमा अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट देशभरका वडा अधिवेशन उद्घाटन गर्नुभएको छ ।

आसन्न दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज वडा अधिवेशन र यही कात्तिक ९ गते पालिका अधिवेशन हुन लागेको छ । आजै ६ हजार भन्दा बढी वडामा एमालेको नयाँ नेतृत्व आउने भएको छ। कतिपय वडामा यसअघि नै नेतृत्व चयन भइसकेको छ । बाढीपहिरो प्रभावित जिल्लामा भने आज वडा अधिवेशन हुनेछैन ।

एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार यो उद्घाटन समारोहलाई इन्टरनेट पहुँच भएका वडाका कार्यक्रममा ‘डिस्प्ले’ गरिने छ । बाढीपहिरोबाट प्रभावित जिल्लामा भने आज वडा अधिवेशन स्थगित भएका छन् । एमालेको १०औँ महाधिवेशन १० देखि १२ मंसिरमा चितवनमा हुँदैछ । शुक्रबार बसेको एमाले स्थायी कमिटी बैठकले रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा गठित २१ सदस्यीय १०औँ महाधिवेशन मूल व्यवस्थापन समितिलाई पूर्णता दिएको थियो । जस्को सहसंयोजकमा सुरेन्द्र पाण्डे र सचिवमा बिष्णु रिमाल हुनुहुन्छ ।

बैठकले राष्ट्रिय महाधिवेशनका प्रतिनिधि चयन गर्नका लागि २०७७ चैत मसान्तसम्म सदस्य बनेका र नवीकरण गरेका सदस्यहरू योग्य रहने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभएको छ । उहाँका अनुसार बैठकले १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय मतदान मेसिन प्रयोग गर्ने निर्णय गरेको छ । यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

राष्ट्रिय महाधिवेशनका प्रतिनिधि चयनसम्बन्धी मापदण्ड तय गर्न र अन्य आवश्यक निर्णय गर्नका लागि स्थायी कमिटीको बैठक ११ कात्तिकमा बोलाउने निर्णय गरेको छ । स्थायी कमिटीलगत्तै कात्तिक १२ गते केन्द्रीय कमिटी बैठक आह्वान गरिएको छ ।

एमालेको १०औँ महाधिवेशन १० देखि १२ मंसिरमा चितवनमा हुनेछ । उदघाटनपछि सम्बोधनको क्रममा अध्यक्ष ओलीले आज अधिवेशन हुन नसकेका वडाहरुको अधिवेशन चाँडै सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।