जनता टाइम्स

६ कार्तिक २०७८, शनिबार १४:३१

ओखलढुंगामा एमाले अधिवेशन : वडामा सहमति, जिल्ला र पालिकामा चर्काे गुटबन्दी


ओखलढुुंगा, कात्तिक ६ । नेकपा एमालेको वडा अधिवेशन सुरु भएको छ । जिल्लाका ७५ वटै वडामा वडा अधिवेशन सुरु भएको नेकपा एमाले जिल्ला कमिटी सचिव शंकर कटवालले जानकारी दिनुभयो । जिल्लाका सबै ७५ वडामा नेकपा एमालेको प्रथम विधान महाधिवेशनबाट पारित विधान अनुसार अधिवेशन सम्पन्न हुने कटवालले बताउनु भयो ।

‘सकेसम्म सबै वडामा सर्वसम्मत नेतृत्व चयन गर्ने, असम्भव भएमा स्वस्थ लोकतान्त्रिक पद्धति अपनाइनेछ’ उहाँले भन्नुभयो । कतिपय वडामा यसअघि निर्माण गरिएको अधिवेशन आयोजक कमिटीलाई नै अनुमोदन हुने र कतिपयमा हेरफेर हुने एमालेले जनाएको छ । एमालेको वडा तहमा नेतृत्व चयनमा खास मतभेद देखिएको छैन । पालिका तथा जिल्लास्तरमा भने गुटगत रुपमा विभाजन हुने देखिएको छ ।

एमालेका सबै वडा र स्थानीय कमिटी सर्वसम्म बनाउन र गुटगत रुपमा काखा र पाखा नगर्न नेताहरुलाई निर्देशन दिइएको एमाले केन्द्रीय सदस्य तथा सांसद यज्ञराज सुनुवारले बताउनु भयो । उहाँले पार्टी बनाउने सन्दर्भमा अनुचित खालको गुटलाई निषेध गरिने बताउनु भयो । नेकपाकालीन द्वन्द्व जिल्ला तथा पालिकामा रहे पनि वडा तहमा भने विवाद सहतमा आउने गरी देखिएको छैन । पालिका तथा जिल्लामा नेताहरुबीच गुटगत विभाजन र गुटबन्दी चर्को रुपमा देखिएको छ ।

पालिका तथा जिल्ला तहमा भने एमालेमा संस्थापन समुह र १० बुँदे पक्षधर समुह सक्रिय छ । संस्थापनको नेतृत्व किशोर अधिकारी, नानीबाबु बुढाथोकी, अम्बीरबाबु गुरुङ, शकुन्तला राजभण्डारी, तीर्थ सुवेदी लगायतले गर्नुभएको छ । संस्थापन समुहमा नेकपाकालिन नेता बालकृष्ण ढुंगेल, सुरेश थापा, अशोक थापा लगायतका जिल्ला तहका नेताहरु पनि हुनुहुन्छ । १० बुँदे पक्षधरहरुको नेतृत्व यज्ञराज सुनुवारले गर्नुभएको छ । यो समुहमा नेताहरु हर्कबोल राई, मणिराज राई, हरिकुमार राई, गोविन्द पौडेल, सुनिल खड्कालगायत हुनुहुन्छ ।