जनता टाइम्स

१० असार २०७६, मंगलवार १२:५०

विदेशमा उपचार गर्न जानेलाई रकम नदिने सरकारको घोषणा


काठमाडौं, असार १०

उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले विदेशमा उपचार गर्न जाने जोकसैलाई पनि सरकारले रकम नदिने बताउनु भएको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा स्वास्थ्य मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने क्रममा मन्त्री यादवले कसैलाई पनि एक पैसा नदिने बताउनु भएको हो ।

स्वास्थ्यमन्त्री यादवले नेपालमा उपचार नभएर मात्रै विदेश जाने नगरेको बताउँदै पैसा भएर विदेश जानेलाई भने रोक्न नसकिने उल्लेख गर्नुभयो । ‘नेपालमा उपचार नभएर मात्रै विदेश जाँदैनन्। नेपालमा सम्भव हुने उपचारका लागि पनि विदेश जाने क्रम बढेको छ’, मन्त्री यादवले भन्नुभयो, ‘पैसा भएर विदेश उपचारमा जानेलाई रोक्न सकिँदैन। तर विदेशमा उपचार गराउने जोकसैलाई सरकारले खर्च नदिने कानुनी व्यवस्था लागू भइसकेको छ।’ मन्त्री यादवले देशका ठुलै मान्छेदेखि सर्वसाधारणको हकमा पनि यो कुरा लागू हुने बताउनु भयो । ‘अब शक्तिशालीले पनि विदेशमा उपचार गर्न सरकारी कोषबाट पैसा पाउँदैनन्, त्यसबारे कानुन नै बनिसकेको छ’, उहाले भन्नुभयो, सरकार यो व्यवस्था लागू गराउन कटिवद्ध छ, तपाईंहरु ढुक्क हुनुस्।’