जनता टाइम्स

११ कार्तिक २०७८, बिहीबार १९:१४

कांग्रेस त्यागेर एमाले बनेको एक महिनामै धामी बने पालिका अध्यक्ष


दार्चुला, कात्तिक ११ । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडा अध्यक्षको चुनाव जितेका एक जना एमालेको पालिका कमिटी अध्यक्षमा चयन भएका छन् ।

दार्चुलाको व्यास गाउँपालिका ५ को वडा अध्यक्षमा कांग्रेसबाट निर्वाचित मंगलसिंह धामी एमालेको अधिवेशनबाट पालिका कमिटी अध्यक्षमा चयन हुनुभएको हो ।

बिहीबार सम्पन्न एमाले व्यास गाउँपालिकाको अधिवेशनले मंगलसिंह धामी अध्यक्ष र नारददत्त भट्ट सचिव रहने गरी ९१ सदस्यीय कमिटी चयन गरेको नेकपा एमाले जिल्ला कमिटी सदस्य उपेन्द्रसिंह धामीले जानकारी दिनुभयो ।

गत असोज १० गते भएको नेपाली कांग्रेसको पालिका अधिवेशनमा मंगलसिंह धामीले व्यास गाउँपालिका सभापतिमा दाबी गर्नुभएको थियो । पालिका सभापतिमा आकांक्षी बढी भएपछि चुनावी प्रक्रियाबाट कांग्रेसले पालिका सभापतिको टुंगो लगाएको थियो ।

चुनावी प्रक्रियाबाट हारेपछि धामीले कांग्रेसीहरूले धोका दिएको भन्दै १७ असोजमा एमालेमा प्रवेश गर्नुभएको थियो । एमालेमा प्रवेश गरेका धामीलाई व्यासका एमालेकार्यकर्ताले सर्वसम्मत रूपमा पालिका अध्यक्षमा चयन गरेका छन् । धामी व्यास क्षेत्रमा प्रभावशाली नेता मानिन्छन् ।