जनता टाइम्स

११ असार २०७६, बुधबार ०७:३१

अष्ट्रेलिया विश्वकप क्रिकेटको सेमिफाइनलमा


काठमाडौं ।

अष्ट्रेलिया इंग्ल्याण्डमा जारी संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराती सम्पन्न खेलमा घरेलु टोली इंग्ल्याण्डलाई ६४ रनले पराजित गर्दै अष्ट्रेलिया दुई खेल अगाबै सेमिफाइनलमा पुगेको हो ।

लर्ड्स क्रिकेट मैदानमा अष्ट्रेलियाले दिएको २ सय ८६ रनको मध्यम लक्ष्य पछ्याएको इंग्ल्याण्ड ४४ ओभर ४ बलमा अलआउट हुँदै २ सय २१ रनमा समेटियो । इंग्ल्याण्डका लागि बेन स्टोक्सले ८९ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै जोनी बरिस्टो २७, क्रिस वोक्सले २६ तथा जोश बट्लर र रशिद आदीलले समान २५र २५ रन बनाए । जेसन बेहरेन्डोर्फ ४४ रन खर्चेर ५ विकेट लिए । यस्तै मिचेल स्टार्कले ४ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभर खेल्दै ७ विकेट गुमाएर २ सय ८५ रन बनाएको थियो । अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्च एक्लैले १ सय रनको शतकीय इनिङ्स खेले । १ सय १६ बलमा फिन्चले ११ चौका र २ छक्का प्रहार गरे । यस्तै डेभिड वार्नरले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । त्यस्तै एलेक्स केरी र स्टिभ स्मिथले ३८र३८ रन बनाए । अष्ट्रेलियाले ७ खेलबाट १२ अंक जोडेको छ । यो सँगै अष्ट्रेलिया तालिकाको शीर्ष स्थानमा समेत उक्लिएको छ । इंग्ल्याण्ड ७ खेलबाट ८ अंक जोडेर चौंथो स्थानमा रहेको छ । इंग्ल्याण्डको पनि शीर्ष चारमा रहँदै सेमिफाइनल पुग्ने सम्भावना कायम रहेको छ ।