भक्तपुर, १७ कार्तिक । नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले सत्तारुढ दल नेपाली कांग्रेसका नेता गगनकुमार थापालाई चुनौति दिँदै आगामी निर्वाचन पछि भक्तपुरमा भुगोलमा नभेटिने दावी गर्नुभएको छ । थापाले नेता बस्नेतको गृहस्थान गुण्डुमा कांग्रेसले आयोजना गरेको एक कार्यक्रममा एमालेलाई बढार्ने बताउनुभएको थियो ।
नेता बस्नेतले भक्तपुरमा एमालेको संगठन तथा एमालेको नेतृत्वमा गरेको विकासले जनताले एमालेको विकल्पमा कांग्रेसको कल्पना समेत गर्न नसकेको उल्लेख गर्नुभयो । परमादेश तथा सेटिङको माध्यमबाट अनैतिक तथा अबैध गठबन्धन गरी सरकार सञ्चालन गरिरहेका पाँच दलीय गठबन्धनको नेतृत्वकर्ता कांग्रेस जनताको नजरमा सक्किने दिशामा तर्फ अघिबढेको बताउनुभयो ।
अखिल नेपाल महिला संघ भक्तपुर क्षेत्र नं। २ कमिटीले आयोजना गरेको शुभदिपावली, नेपाल सम्वत ११४२, छठलगायतका नेपालीहरुको चाडपर्वहरुको देउसी, भैलो तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता बस्नेतले एमालेको नेतृत्वमा भक्तपुरमा विकासले ऐतिहासिक फड्को मारेको उल्लेख गर्दै कांग्रेसको नेतृत्वमा भक्तपुर विकासमा बत्तिमुनीको अध्यारो बनेको बताउनुभयो । उहाँले भन्नुभयो ‘नेपाली कांग्रेसलाई भक्तपुरमा भुगोलमा नभई गुगलमा सिमित गर्दै गुगलमा खोज्ने बनाउँछौं । गगन जी कांग्रेसलाई सच्याउनुस्, सक्किने बाटोमा नलैजानुस् । एमालेलाई बढार्ने हैन, भक्तपुबाट तपाईको पार्टी कांग्रेसलाई इतिहासमा सिमित हुँदैछ ।’
कांग्रेसले अवैध सांसदहरुको बैशाखी टेकेर तथा बदनाम भइसकेका माधव नेपाल र पुष्पकमल दाहालको बैशाखी टेकेर सरकार सञ्चालन गरी आफु पनि पूर्ण रुपमा बदनाम भइसकेको उल्लेख गर्दै नेता बस्नेतले वर्तमान नेपालको राजनीतिमा एमाले भर्सेस अरु दल जस्तो बनेको बताउनुभयो ।
कोही मानिस विकास हेर्न दिल्ली गए जस्तै अब विकास हेर्न नेपाल आउँदा गुण्ड–बालकोट तथा चाँगुनारायणको स्मार्ट सिटी हेर्न आउने अवस्था सिर्जना गर्ने उल्लेख गर्दै नेता बस्नेतले कांग्रेस नेता प्रकाशमान सिंह तथा थापालाई जिताएर उक्त क्षेत्रका जनता पछुताइरहेको दावी गर्नुभयो । एमालेको नेतृत्व आएसँगै भक्तपुरका जनताको जीवनस्तर उच्च हुँदै गएको नेता बस्नेतले उल्लेख गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्