जनता टाइम्स

२१ कार्तिक २०७८, आईतवार १९:२३

अफगानिस्तानलाई हराउँदै न्युजिल्यान्ड सेमिफाइनलमा, भारत पनि बाहिरियो


काठमाडौं, २१ कार्तिक । अफगानिस्तानलाई हराउँदै न्युजिल्यान्ड टी–२० विश्व कप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । यूएईको आबुधाबीमा अफगानिस्तानले दिएको एक सय २५ रनको लक्ष्य न्युजिल्यान्डले ११ बलअघि नै मात्रै दुई विकेट गुमाएर भेटायो । उसका लागि मार्टिन गुप्टिलले २८ र ड्यारेल मिचेलले १७ रन बनाए ।

केन विलियम्सनले ४० र डेवन कनवेले नटआउट ३६ रन बनाए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा आठ विकेट गुमाएर एक सय २४ रन बनायो । उसका नजिबुल्लाह जदरानले ४८ बलमा ३ छक्का र चार चौकासहित ७३ रन बनाए । बलिङतर्फ न्युजिल्याण्डका ट्रेन्ट बोल्टले तीन विकेट लिए । आजको न्युजिल्यान्डको जितसँगै भारत पनि सेमिफाइनल नपुगी बाहिरिएको छ । यदि आज अफगानिस्तानले जितेको भए अफगानिस्तान, भारत र न्युजिल्यान्ड तीन वटै टोलीको सम्भावना रहने थियो । विश्व कपको सेमिफाइनलमा इङ्ग्ल्यान्ड, अस्ट्रेलिया, पाकिस्तान र न्युजिल्यान्ड पुगेका छन् ।