जनता टाइम्स

२२ कार्तिक २०७८, सोमबार ०७:५९

आइसिसी टी-२० : समूह विजेता बन्यो पाकिस्तान, अष्ट्रेलियासंँग सेमिफाइनल भिड्ने


काठमाडौं, कात्तिक २२ । पाकिस्तान स्कटल्याण्डलाई पराजित गर्दै आइसिसी टी २० विश्वकपमा अपराजित रहँदै सेमिफाइनलमा पुगेको छ । आइतबार सुपर(१२ को समूह(२ मा रहेको पाकिस्तानले स्कटल्यान्डलाई ७२ रनले पराजित गर्दै समूह विजेताका रुपमा सेमिफाइनल पुगेको हो ।

अब, पाकिस्तानले फाइनल प्रवेशका लागि बिहीबार सुपर १२ को समूह-१ को उपविजेता अष्ट्रेलियासँग खेल्नेछ । जितका लागि १९० रनको विजयी लक्ष्य पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११७ रन मात्र बनाउन सक्यो । स्कटल्यान्डका रिची बेरिंगटनले सर्वाधिक ५४ रनमा अविजित रहे ।

यसअघि शारजाहमा टस जितेर ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८९ रन बनाएको थियो । पाकिस्तानका कप्तान बाबर आजमले सर्वाधिक ६६ रनको योगदान दिए । शोएब मलिक ५४ रनमा अविजित रहे । सुपर १२ को समूह २ मा ५ खेलमा अपराजित रहँदै १० अंक बनाएको पाकिस्तान शीर्ष स्थानमा छ । युजिल्यान्डले ५ खेलमा ४ जित र १ हार सहित सहित ८ अंकका साथ दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाएको हो ।

पहिलो सेमिफाइनल बुधबार इंग्ल्यान्ड र न्युजिल्यान्डबीच हुनेछ । दोस्रो सेमिफाइनलमा बिहीबार पाकिस्तान र अष्ट्रेलियाबीच हुनेछ ।