जनता टाइम्स

२२ कार्तिक २०७८, सोमबार १७:५५

भारतमा एकैदिनमा थप ११ हजार नयाँ संक्रमित


नयाँ दिल्ली, कात्तिक २२ । भारतमा कोरोनाभाइरसबाट एकैदिनमा थप ११ हजार ४५१ जना नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा अरु २६६ जनाको कारोनाभाइरसका कारणले मृत्यु भएको सरकारी अधिकारीहरुले सोमबार जानकारी दिएका छन्। केन्द्रीय स्वास्थ्य मन्त्रालयअनुसार पछिल्लो एक दिनमा १३ हजार २०४ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन्।

एउटै अवधिमा नयाँ संक्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएकाले संक्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या घट्दै गएको छ। भारतमा अहिले संक्रमित अवस्थामै रहेकाहरुको कुल सङ्ख्या एक लाख ४२ हजार ८२६ रहेको छ।

यो सङ्ख्या २६२ दिनपछिकै सवैभन्दा कम भएको पनि मन्त्रालयले जनाएको छ। भारतमा अहिले पनि कोरोनाभाइरसको महामारीको प्रभाव सवैभन्दा धेरै केरला राज्यमा देखिएको छ। केरलामा मात्रै पछिल्लो २४ घण्टामा पनि सात हजार १२४ जना नयाँ संक्रमित थपिएका छन् भने २१ जनाको मृत्यु भएको छ।