जनता टाइम्स

२४ कार्तिक २०७८, बुधबार १५:०६

सुनसरी एमाले बैठकमै लफडा, अध्यक्ष बोल्दाबोल्दै द्वारिकालाल चौधरीले खोसे माइक


सुनसरी, कात्तिक२४ । सुनसरी नेकपा एमालेमा विवादले उग्र रूप लिएको छ। २ जेठ २०७५ मा फर्किने विषयलाई लिएर चलिरहेको विवादले पक्ष र विपक्षबीच दोहोरी चलेपछि उग्र रूप लिएको हो । सदरमुकाम इनरुवास्थित ओमसाई पार्टी प्यालेसमा आज बसेको बैठकमा आपसमा माइक खोसाखोस समेत भएको छ।

२ जेठको विषयमा चरम विवाद भएपछि २ जेठका अध्यक्ष रमेश बस्नेत र केपी ओली पक्षले गत पुसमा अध्यक्ष बनाएका रेवतीरमण भण्डारी समूहबीच विवाद चर्केको थियो । दुवैलाई हटाएर तेस्रो व्यक्ति पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज धर्म निरौलालाई बैठकको अध्यक्षता गराएपछि दुवै पक्षबीच मनमुटाव भएको हो । कार्यक्रमको अध्यक्षता गरेर बोल्ने क्रममा पूर्वजिल्ला अध्यक्ष तथा इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकालाल चौधरीले माइक खोस्नुभएको हो ।

अवैधानिक कमिटी र अवैधानिक व्यक्तिले अध्यक्षता गरेको बैठकमा अतिथी निरौला हुन नमिल्ने भन्दै चौधरीले माइक खोसेपछि बैठकस्थलमा तनाव भएको छ। चौधरीको हातबाट पुनः माइक खोस्न कार्यकर्ताहरू मञ्चमै चढेपछि त्यहीँ थप विवाद भएको छ। माइक खोसेपछि चौधरी कार्यक्रम स्थलबाट हिँडनुभएको छ । उहाँले बैठक बहिष्कार गरेको बताइएको छ।

उहाँले सुनसरी एमालेको विवादलाई लिएर केहीबेरमा इटहरीमा पत्रकार सम्मेलनको तयारी गर्नुभएको छ । चौधरीले माइक खोसे पनि बैठक नरोकिएको एक नेताले बताए । चौधरीले हिजो मङ्गलवार सामाजिक सञ्जालमा जिल्ला बैठक मेरो अध्यक्षता हुने भन्दै पोस्ट समेत गर्नुभएको छ ।