जनता टाइम्स

२४ कार्तिक २०७८, बुधबार १९:१३

उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको सेमिफाइनल समीकरण पूरा


काठमाडौं, २४ कात्तिक । कैलालीको गौरीगंगा नगरपालिका र झापाको कनकाई नगरपालिका उपमेयर कप महिला राष्ट्रिय लिग छनोटको सेमिफाइनलमा प्रवेश गरेका छन् । आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा गौरीगंगाले रोङ गाँउपालिका इलामलाई टाइब्रेकमा ३–२ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेलको छिनोफानो पेनाल्टी सुट आउटमा गरिएको थियो । दिनको अन्तिम तथा दोस्रो खेलमा कनकाईले कैलालीको गोदावारी नगरपालिकालाई ३-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो । कनकाईको सहज जीतमा कुसुम खतिवडाले २ तथा इमा राईले १ गोल गरिन् ।

यससँगै उपमेयर कप महिला राष्ट्रिय लिग छनोटको सेमिफाइनल समीकरण पूरा भएको छ । यसअघिको खेलमा जीत निकाल्दै ललितपुर महानगरपालिका ललितपुर र धनगढी उपमहानगरपालिका कैलालीले सेमिफाइनलमा स्थान पक्का गरेका छन् । अब सेमिफाइनलमा कनकाई र ललितपुर तथा धनगढी र गौरीगंगाबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल शुक्रबार हुनेछन् । फाइनल आइतबार हुनेछ ।

प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने दुई टोली राष्ट्रिय महिला लिगका लागि छनोट हुनेछन् । राष्ट्रिय लिगमा यस पटक आठवटा टोलीको सहभागिता रहनेछ । उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको विजेताले पाँच लाख पाउँदा उपविजेताले दुई लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।