जनता टाइम्स

२५ कार्तिक २०७८, बिहीबार ०९:१९

भरतपुर र माडीमा एमालेले छान्यो सर्वसम्मत नयाँ नेतृत्व


चितवन, कात्तिक २५ । नेकपा एमालेले चितवनका भरतपुर महानगर र माडी नगर कमिटीको नेतृत्व चयन गरेको छ । अधिवेशन उद्घाटन भएको ९ दिनपछि एमालेले महानगर कमिटीलाई पूर्णता दिएको हो ।

दुवै पालिकाको अधिवेशन कात्तिक १५ गते उदघाटन गरिएको थियो । ९ दिनपछि सर्वसम्मत रुपमा नयाँ नृतृत्व चयन गरिएको हो । जसअनुसार भरतपुर महानगर कमिटीको अध्यक्षमा शंकर थपलिया चयन हुनुभएको छ । उहाँ तत्कालीन सचिव हुनुहुन्थ्यो । यस्तै सचिवमा टिकाराम सुवेदी चयन हुनुभएको छ । उहाँ पूर्वमाओवादी नेता हुन । यस्तै उपसचिवमा निशा अधिकारी चयन हुनुभएको छ । उपाध्यक्ष र एक उपसचिव पद खाली राखिएको छ ।

महानगर कमिटी ११७ सदस्यीय चयन गरिएको हो । बिहीबार केन्द्रीय नेताहरुको उपस्थितिमा महानगर कमिटीका अध्यक्ष, पदाधिकारी र सदस्यहरुलाई सपथ गराउने तयारी एमाले चितवनले गरेको छ ।

कात्तिक ९ गते नै नगर अधिवेशन भएको माडी कमिटीले १५ दिन पछि बल्ल पूर्णता पाएको छ । माडी नगर कमिटीको अध्यक्षमा नारायणप्रसाद अधिकारी चयन हुनुभएको छ । ७१ सदस्यीय कमिटी ९ गतेनै सर्वसम्मत भए पनि पदाधिकारीमै २२ जना आकांक्षी बनेपछि सहमति गराउन सकस परेको थियो ।

अध्यक्षमा ४ जना आकांक्षी थिए । उपाध्यक्षमा रामेश्वर चौधरी, सचिवमा श्रीप्रसाद दवाडी, उपसचिवमा पूर्णकला सुनार र मोहदत्त काफ्ले चयन हुनुभएको छ । माडी कमिटीलाई २६ गते सपथ गराउने तयारी छ । ९ गते नै नगर अधिवेशन भएका कालिका र राप्ती नगरपालिका कमिटिलाई पनि आज नै सर्वसम्मत गराउने प्रयास भैरहेको छ ।

रत्ननगर नगर कमिटीमा ईश्वरीप्रसाद अर्याल, खैरहनी नगर कमिटीमा पूर्णप्रसाद डल्लाकोटी, इच्छाकामना गाउँ कमिटीमा कृष्णप्रसाद सिलवालको नेतृत्वमा कमिटीहरु बनिसकेका छन् ।