जनता टाइम्स

२५ कार्तिक २०७८, बिहीबार १०:४६

महागुरु फाल्गुनन्दको यात्रा : विश्वयुद्धको लडाइँदेखि समाज सुधारकसम्म


काठमाडौं, कात्तिक २५ । आज किराँत धर्मका महागुरु भनेर चिनिएका फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती । किरात धर्मको प्रवर्तकका रूपमा चिनिएका उहाँ २५ कात्तिक १९४२ मा इलामको चुक्चिनाम्बा भन्ने ठाउँमा जन्मिनु भएको थियो । उहाँको न्वारनको नाम भने नरध्वज लिङ्देन हो ।

समाज सुधारमा उहाँले पुर्‍याएको योगदानको कदर गर्दै नेपाल सरकारले २०६६ सालमा फाल्गुनन्दलाई १६औँ राष्ट्रिय विभूतिका रूपमा घोषणासमेत गरेको थियो । साथै, सरकारले उनको फोटो अंकित हुलाक टिकटसमेत प्रकाशन गर्दै आएको छ । किरात धर्म मान्नेहरूका लागि सरकारले आज बिदासमेत दिएको छ ।

आज प्रदेश १ का अधिकांश स्थानमा महागुरु फाल्गुनन्दको जन्मजयन्ती धुमधामका साथ मनाइन्छ । देशभर तथा भारतका सिक्किम, दार्जिलिङसम्म विभिन्न कार्यक्रमको आयोजना गररी फाल्गुनन्दको जन्मजयन्ती मनाइँदै छ ।

उहाँले किरात भाषा, संस्कृति तथा समाज सुधारमा महत्त्वपूर्ण योगदान पुर्‍याउनु भएको छ । समाज सुधारका निमित्त फाल्गुनन्दले नीति निर्माणका लागि बनाएको सात बुँदे ‘सत्य धर्म मुचुल्का’ २४ वैशाख १९८८ मा पारित भएको थियो ।

समाज सुधारका लागि उहाँले जारी गरेको सात बुँदे ‘सत्य धर्म मुचुल्का’ आज पनि उत्तिकै सान्दर्भिक रहेको छ । उहाँको जन्मस्थान चुक्चिनम्बा भए पनि ज्ञानभूमि फुलुङ्गी, कर्मभूमि सिलौती लोब्रे र तीर्थभूमिको रूपमा फक्ताक्लुङलाई लिइन्छ ।

उहाँले दोस्रो विश्वयुद्धमा भारतीय सिपाही (इण्डियन लाहुरे) बनेर युद्ध लडेको पनि बताइन्छ । युद्धबाट फर्किएर पछि ध्यान, कर्म तथा धार्मिक, सांस्कृतिक सुधारमा लागेका पाइन्छ । फाल्गुनन्दको निधन २२ चैत २००५ मा ६६ वर्षको उमेरमा पाँचथरको इम्वुङमा भएको थियो ।