जनता टाइम्स

२६ कार्तिक २०७८, शुक्रबार १५:५८

एमाले अधिवेशन : आठमध्ये एक स्थानीय तहमा मात्रै निर्वाचन, अधिकांशमा युवा नेतृत्व


पाँचथर, २६ कात्तिक । पाँचथरका आठमध्ये एक स्थानीय तहमा निर्वाचन र अन्यमा सहमतिमा नेतृत्व चयन गर्दै एमालेको स्थानीय तह अधिवेशन सम्पन्न भएको छ । एमालेले देशव्यापी एकै प६क पालिका अधिवेशन कात्तिक दोस्रो सातामा सक्ने जनाए पनि बाढी र पहिरो प्रकोपका कारण पाँचथरमा हुन सकेको थिएन । एमाले पाँचथरले गत मंगलबारदेखि स्थानीय तहको अधिवेशन थालेर आज सम्पन्न गरेको हो । जसमध्ये एक स्थानीय तहको नेतृत्व चयनमा मात्रै मतदान भएको छ ।

बाँकी सबै स्थानीय तहमा सहमतिमा नयाँ नेतृत्व चयन भएको एमाले पाँचथर जिल्ला कमिटीका उपसचिव नरबहादुर गुरुङले जानकारी दिनुभयो । एमालेले कुम्मायक गाउँपालिकामा निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गरेको छ । गाउँपालिका कमिटीको अध्यक्ष पदमा सहमति जुट्न नसकेपछि आयोजक कमिटीका अध्यक्ष मेघराज निरौला र कुम्मायक गाउँपालिका–४ का वडाध्यक्ष पूर्णकुमार खड्काबीच चुनावी प्रतिस्पर्धा गरेको थियो ।

गाउँपालिका कमिटीको अधिवेशनमा भाग लिएका एक सय २० जना प्रतिनिधि मतदानमा सहभागी थिए । मतदानमा निरौला ९७ मत ल्याई विजयी हुनुभएको छ भने खड्काले २३ मत प्राप्त गर्नुभएको छ । अध्यक्ष बाहेकका पदाधिकारीमा भने सहमति भएको छ । जसअनुसार गाउँपालिका कमिटीको उपाध्यक्षमा रिजवन सम्बाहाम्फे, सचिवमा रुपेश शेर्मा र उपसचिवद्वयमा छवीकुमारी ढकाल र इन्द्र चेम्जोङ निर्वाचित हुनुभएको छ ।

फिदिममा एमालेले जलकुमार तामाङको अध्यक्षतामा ७५ सदस्यीय नयाँ नगर कमिटी चयन गरेको छ । बिहीबार सम्पन्न अधिवेशनबाट उक्त कमिटीको उपाध्यक्षमा हेमबहादुर फागो, सचिवमा दीपेन्द्र तुम्बापो र उपसचिवद्वयमा दीपेन्द्र थापा मगर र सुमन चापागाइँ छन् । एमाले स्थायी कमिटीका सदस्य समेत रहेका संविधानसभाका अध्यक्ष एवं एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको प्रमुख आतिथ्यतामा अधिवेशन उद्घाटन भएको थियो ।

हिलिहाङ गाउँपालिकामा मदन गौतमको अध्यक्षतामा एमालेको ५१ सदस्यीय गाउँपालिका कमिटी निर्वाचित भएको छ । उक्त कमिटीको उपाध्यक्षमा दीपक सुहाङ, सचिवमा भीमप्रसाद हेम्ब्या र उपसचिवद्वयमा शिवप्रसाद दंगाल र वीरेन्द्र मंग्राती छन् । यस्तै, फालेलुङ गाउँपालिकामा नन्दकुमार आङ्थुपोको अध्यक्षतामा ५१ सदस्यीय गाउँपालिका कमिटी निर्वाचित भएको एमाले पाँचथरका उपसचिव गुरुङले जानकारी दिनुभयो । उक्त कमिटीको उपाध्यक्षमा हरिप्रसाद चौहान, सचिवमा पुष्प तिम्सिना र उपसचिवद्वयमा पनिता राई र मानबहादुर खड्का छन् ।

फाल्गुनन्द गाउँपालिकामा एमालेले विनोद आङदेम्बेको अध्यक्षतामा ५१ सदस्यीय गाउँपालिका कमिटी निर्वाचित गरेको छ । उक्त कमिटीको उपाध्यक्षमा पूर्णकुमार नेम्वाङ, सचिवमा सन्दीपविक्रम नेम्वाङ र उपसचिवमा विकास चेम्जोङ छन् । एमालेले तुम्बेवा गाउँपालिकामा डिल्लीराम बुढाथोकीको अध्यक्षतामा ५१ सदस्यीय गाउँपालिका कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्षमा तेजचन्द्र सम्बाहाम्फे, सचिवमा कमल थापा र उपसचिवद्वयमा इन्द्रकुमार कुरुम्बाङ र गणेश सम्बाहाम्फे चयन हुनुभएको छ ।

मिक्लाजुङ गाउँपालिकामा फणिन्द्रप्रसाद घिमिरेको अध्यक्षतामा एमालेको ४८ सदस्यीय गाउँपालिका कमिटी निर्वाचित भएको छ । बिहीबार राति सम्पन्न बन्दसत्रबाट मिक्लाजुङ–६ का वडाध्यक्ष घिमिरेको अध्यक्षतामा सहमतिमा नयाँ कमिटी चयन भएको हो । कमिटीको उपाध्यक्षमा सन्दीप राई, सचिवमा दिनेश खनाल र उपसचिवद्वयमा नरेन्द्र फियाक र मणि थेगिम छन् ।

याङवरक गाउँपालिकामा सन्तप्रसाद बेघाको अध्यक्षतामा एमालेको ५१ सदस्यीय गाउँपालिका कमिटी चयन भएको छ । आज बिहान सम्पन्न अधिवेशनबाट सहमतिमा नयाँ नेतृत्व चयन भएको एमाले पाँचथरका सचिवालय सदस्य एवं याङवरक गाउँपालिका अध्यक्ष लेखनाथ घिमिरेले जानकारी दिनुभयो । नवनिर्वाचित कमिटीको उपाध्यक्षमा रामकुमार योङहाङ, सचिवमा डिल्ली सुवेदी र उपसचिवमा वुद्धिप्रसाद सेलिङ (अनिष) र नरबहादुर खड्का निर्वाचित भएका छन् ।

एमालेले स्थानीय तहको नेतृत्वका अधिकांश पदमा युवालाई स्थान दिएको छ । अहिले पाँचथरमा एमालेको एक सय ९५ सदस्यीय जिल्ला कमिटी छ । तर, नवनिर्वाचित गाउँ तथा नगर कमिटीका अधिकांश पदाधिकारी उक्त जिल्ला कमिटीका सदस्यहरू हुन् । एक मात्रै संघीय निर्वाचन क्षेत्र भएकाले आगामी अधिवेशनबाट जिल्ला कमिटी ६५ सदस्यीय हुने भएपछि युवाहरू गाउँ तथा नगरपालिकाको कार्यकारी जिम्मेवारीमा झरेका हुन् ।