११ असार २०७६, बुधबार ००:००

खानेपानी मन्त्री मगरबाट आयो खेलाडी संरक्षण र व्यवस्थापनका लागि यस्तो प्रस्ताव


कंचनपुर असार ११

खानेपानी मन्त्री बिना मगरले नेपाली युवा खेलाडीहरुको सही ढंगले संरक्षण र व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभएको छ ।

कंचनपुरको महेन्द्रनगरमा महाकाली स्पोर्ट्स सोसाइटीले आयोजना गरेको प्रधानमन्त्री महिला कप टी २० क्रिकेट प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले खेलाडीहरुको संरक्षण र व्यवस्थापनमा सबैको ध्यान जानुपर्ने बताउनुभएको हो ।

‘खेलले राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाउने भएकाले खेलाडीहरुको संरक्षण गर्नु जरुरी छ । खेल भनेको केबल मनोरञ्जनका लागि मात्रै होइन यसले युवाहरुमा आत्मविश्वास समेत जगाउछ,’ मन्त्री मगरले भन्नुभयो, सक्षम र अनुशासित युवा जन्माउन खेलकुद क्षेत्रको विकास गर्नु अति आवश्यक छ ।’

सुदुरपश्चिम क्षेत्रमा यसरी राष्ट्रिय स्तरको महिला क्रिकेट प्रतियोगिता हुनु आफैंमा महत्त्वपूर्ण उपलब्धि रहेको भन्दै यस किसिमको प्रतियोगिता निरन्तर हुनुपर्ने मन्त्री मगरले बताउनुभयो । सुदुरपश्चिम क्षेत्रमा खेलकुदको विकासको लागि आफुले सक्दो सहयोग गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । सुदुरपश्चिम सरकारका उद्योग, वन तथा वातावरण, पर्यटन राज्य मन्त्री प्रकाश रावलले सुदुर पश्चिम क्षेत्रमा खेलकुदको विकासका लागि अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउन गुरुयोजना तयार भैरहेको जानकारी दिनुभयो ।

असार ४ गतेदेखि सुरु भएको महिला क्रिकेट प्रतियोगिताको फाइनल खेल सशस्त्र प्रहरी टीम र सुदुरपश्चिम क्लब बीच भएको थियो । प्रतियोगितामा सशस्त्र प्रहरी टीमले सुदुर पश्चिम टीमलाई ६ विकेटले पराजित गरेको थियो । सुदुर पश्चिम टीमले २० ओभरमा ७१ रनमात्र बनाएको थियो । मन्त्री मगरले विजयी टीमलाई प्रमाणपत्र र पुरस्कार वितरण गर्नुभएको थियो ।