जनता टाइम्स

२८ कार्तिक २०७८, आईतवार १३:१०

यी हुन भक्तपुरबाट छानिएका १७ जना एमाले महाधिवेशन प्रतिनिधि


भक्तपुर, कात्तिक २८ । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा प्रतिनिधित्व गर्न भक्तपुरबाट १७ जना महाधिवेशन प्रतिनिधि छनौट भएका छन् । दुईवटा निर्वाचन क्षेत्र रहेको भक्तपुरमा निर्वाचन क्षेत्र नम्बर १ मा मतदान प्रक्रियाबाट प्रतिनिधि छनौट गरिएको हो ।

एमाले संगठित सदस्यका आधारमा उक्त क्षेत्रमा खुल्ला तर्फ ४ र महिला तर्फ २ जना महाधिवेशन प्रतिनिधि चयन भएका हुन् । शनिवार भएको मतदान प्रक्रियामा शम्भु दाहालले ९६१ मत, निरञ्जन बजगाईले ८७५ मत, परासर सापकोटाले ८१२ मत, मिलन सुवालले ७६९ मत, विणा बास्तोलाले सर्वाधिक १०११ मत र नारायणी फुँयालले ८३५ मत प्राप्त गरी महाधिवेशन प्रतिनिधि चयन हुनुभयो ।

यसैगरी भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट ११ जना महाधिवेशन प्रतिनिधि शुक्रबार नै सर्वसम्मत चयन भएका छन् । आगामी मंसीर १० देखि १२ सम्म चितवनमा आयोजना हुने एमाले दशौं राष्ट्रिय महाधिवेशनका लागि चयन महाधिवेशन प्रतिनिधिहरुमा नेकपा एमाले बागमति प्रदेश कमिटी सचिवालय सदस्य राजेन्द्र राजथला, प्रदेश कमिटी सदस्य तथा वागमति प्रदेश सभा सदस्य शशिजंग थापा, प्रदेश कमिटी सदस्यहरु निर्मलकुमार भट्टराई तथा भास्कर प्रधानाङ्ग, पार्टी जिल्ला कमिटी अध्यक्ष बचन देउजा, पार्टी सचिव तथा सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापा, जिल्ला कमिटी सदस्य तथा मध्यपुर नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ चयन हुनुभएको छ ।

यसैगरी महिला प्रतिनिधिहरुमा जिल्ला कमिटी सदस्यहरु उत्तरा नेपाल र भागीरथा सिटौला तथा नगर कमिटी सदस्य तारा खड्का बस्नेत चयन हुनुभएको छ भने समावेशी तर्फ जिल्ला कमिटी सदस्य दीपक विसुंखे सर्वसम्मत चयन हुनुभएको छ ।

भक्तपुर जिल्लामा नेकपा एमालेको संगठित सदस्य संख्या निर्वाचन क्षेत्र नम्बर १ मा ३ हजार ३ सय ३४ र क्षेत्र नम्बर २ मा ६ हजार ९३ सहित ९ हजार ४ सय २७ जना रहेको नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले जानकारी दिएको छ । सो संख्याको अधारमा क्षेत्र नम्बर १ बाट खुल्ला तथा महिलातर्फबाट ६ जना तथा क्षेत्र नम्बर २ बाट खुल्ला, महिला तथा समावेशी तर्फबाट ११ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।