जनता टाइम्स

२९ कार्तिक २०७८, सोमबार ०९:२५

कञ्चनपुरको क्षेत्र नं. १ मा कडा प्रतिस्पर्धा : यस्तो छ नजिता


महेन्द्रनगर, कार्तिक २९ । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनोटका लागि कञ्चनपुरको क्षेत्र नं. १ मा भएको चुनावबाट ५ जना छानिएका छन् ।

महाधिवेशन प्रतिनिधि छान्न आइतबार भएको निर्वाचनबाट खुलातर्फ ४ र महिलातर्फ १ जना निर्वाचित भएका हुन् ।खुलातर्फ निर्वाचित हुनेमा जिल्ला कमिटी अध्यक्ष बीरबहादुर थापा (पातल), सहसचिव पल्लबराज भट्ट, भक्तबहादुर अधिकारी, हिरासिंह विष्ट र महिलातर्फ भूमि सम्बन्धी समस्या समाधान आयोग कञ्चनपुरकी पूर्व अध्यक्ष कमला बोहरा हुनुहुन्छ । सहमतिको प्रयास असफल भएपछि चुनाव भएको थियो । थापाले १ हजार ५ सय १७, भट्टले १ हजार १ सय ५३, अधिकारीले ८ सय ६, विष्टले ७ सय ४१ र बोहराले ९ सय २६ मतका साथ विजय हुनुभएको हो । ५ प्रतिनिधि छनोटका लागि १० जनाका बीचमा प्रतिस्पर्धा भएको थियो ।

निर्वाचित ५ जनासँग रोशन खड्का, खेम सुवेदी, रामचन्द्र नेपाल, खेमराज ओझा र चित्रादेवी चौधरीले प्रतिस्पर्धा गर्नुभएको थियो। खड्काले ७ सय २६, चौधरीले ७ सय २३, सुबेदीले ६ सय ५०, नेपालले ४ सय ८५ र ओझाले २ सय ७० मत मात्र प्राप्त गर्नुभएको छ । कूल १ हजार ७ सय ४० मत खसेको थियो । क्षेत्र नं. २ मा भने आकांक्षीहरुले प्रतिनिधिको टुंगो लगाउने जिम्मा जिल्ला नेतृत्वलाई नै दिएका छन् । आइतवार दिउँसो सहमतिका लागि जिल्ला इन्चार्ज निरु पाललगायतका नेताहरु त्यहाँ पुग्नुभएको थियो ।

क्षेत्र नं. २ मा महाधिवेशन प्रतिनिधिका लागि संघीय सांसद नरबहादुर धामी, पूर्व सांसद कृपाराम राना, बेदकोट नगरका मेयर अशोककुमार चन्द, जिल्ला सहसचिव रणबहादुर महरा, युवा संघ नेपालका निवर्तमान अध्यक्ष बचनबहादुर सिंह र जिल्ला उपाध्यक्ष लक्ष्मी बुढालगायत १५ जना प्रतिस्पर्धामा हुनुहुन्छ। तीमध्ये संघीय सांसद धामी, बेदकोटका मेयर चन्द, सहसचिव महरा, प्रदेश कमिटी सदस्य जयराज पाण्डे र जिल्ला उपाध्यक्ष बुढा महाधिवेशन प्रतिनिधि बन्ने सम्भावना बढी रहेको एमालेका एक नेताले जनताटाइम्सलाई दिनुभयो । क्षेत्र नं. ३ मा भने सर्वसम्मत ढंगले महाधिवेशन प्रतिनिधिको छनोट भइसकेको छ । १२ जना उम्मेदबारबाट ४ जना महाधिवेशन प्रतिनिधि छनोट गरिएको छ ।

संघीय सांसद दिपकप्रकाश भट्ट, भीमदत्त नगरका मेयर सुरेन्द्र विष्ट, सुदूरपश्चिम प्रदेश कमिटी सदस्य कृष्णदेव पन्त र जिल्ला कमिटी सल्लाहकार खिमा चन्दलाई महाधिवेशन प्रतिनिधि छनोट गरिएको एमाले कञ्चनपुरका कार्यालय सचिव कर्णबहादुर चन्दले बताउनुभयो । क्षेत्र नं.३ बाट महाधिवेशन प्रतिनिधिका लागि खुलातर्फ गगन खत्री, चन्द्रसिंह धामी, हरि धनाडी, जनक अवस्थी, हरिप्रसाद जोशी, महेश पन्त र विष्णु अवस्थीले पनि इच्छा राख्नुभएको थियो । यसैगरी महिलातर्फ चिनी गिरीको उम्मेदवारी परेको थियो । सहमति नजुटेपछि शनिवार आकांक्षीहरुले जिल्ला इन्चार्ज निरु पाल र अध्यक्ष बीरबहादुर थापाले गरेको निर्णय मान्य हुने भन्दै कागज गर्नुभएको थियो ।