१२ असार २०७६, बिहीबार ००:००

एसइईको नतिजा आज सार्वजनिक गरिदै, एक बजे डाकियो बोर्ड बैठक


काठमाडौं, असार ११

परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशनका लागि सबै तयारी पूरा भएको जनाएको छ । अब बोर्डको बैठक बसेपछि नतिजा प्रकाशन हुने कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले बताउनु भयो । आज दिउँसो १ बजे बैठक डाकिएको छ । यसअघि बुधबार नै बोर्ड बैठक बसेर नतिजा सार्वजनिक गर्ने तयारी भए पनि पुनः परीक्षण नसकिएकाले बैठक सरेको हो ।

‘सबै तयारी सकिएको छ, नतिजामा विगतमा झैँ त्रुटि नदोहोरिओस् भनेर पुनः परीक्षणलाई जोड दिएका हौँ,’ उपनियन्त्रक शर्माले भन्नुभयो । कार्यालयले नतिजा प्रकाशनका लागि बिहीबार दिउँसो १ बजे राष्ट्रिय परीक्षा बोर्डको बैठक बोलाएको छ । साधारणतया बोर्ड बैठक बसेपछि लगत्तै नतिजा प्रकाशन हुन्छ ।

यस वर्ष प्रदेश २ मा प्रश्नपत्र बाहिरिएर पुनः परीक्षा सञ्चालन गर्नुपर्दा र जनशक्ति अभावले ढिला भएको हो । विगतमा जेठ मसान्तदेखि १–२ असारभित्रै एसइईको नतिजा प्रकाशन हुने गर्थ्यो । प्रदेश २ बाहेक सबै ठाउँमा १०–२१ चैतसम्म परीक्षा सञ्चालन भएको थियो । प्रदेश २ मा भने बाँकी विषयको २२ देखि २९ चैतसम्म पुनः परीक्षा भएको थियो ।

नियमिततर्फ चार लाख ५० हजार एक सय ८६ र आंशिक गरी जम्मा चार लाख ७५ हजार परीक्षार्थी सहभागी छन् । छात्रा दुई लाख ३८ हजार पाँच सय ५८ र छात्र दुई लाख ३६ हजार चार सय छन् । यीमध्ये सामुदायिक विद्यालयबाट तीन लाख ४० हजार एक सय ९६ र निजीबाट एक लाख ३४ हजार आठ सय सहभागी छन् ।