जनता टाइम्स

१२ असार २०७६, बिहीबार ०८:५६

क्लिनफिल्डले सरकारको दृढ समर्थक बन्यो मिडिया सोसाइटीसहित चार संगठन


काठमाडौं, असार १२

सञ्चारसँग सम्बन्धित विभिन्न संघसंस्थाले सरकारले क्लिन फिडको नीति लागू गर्ने निर्णय गरेकामा स्वागत गरेका छन् । नेपाल मिडिया सोसाइटी, नेपाल विज्ञापन संघ (आन), ब्रोडकास्टिङ एशोशिएशन अफ नेपाल (बान) र सामुदायिक रेडियो प्रसारक संघ (एकोर्याव) ले संयुक्त विज्ञप्ती जारी गर्दै क्लिनफिल्ड नीति लागू गर्ने निर्णय गरेकोमा स्वागत गर्दै चाँडो पारित गर्न संसदसँग आग्रह गरेको छ । चार ओटै संस्थाहरुले धेरै वर्षदेखि नेपाली मिडियाहरुले नेपाल सरकारसँग क्लिन फिड नीति लागू गर्न माग गर्दै आइरहेको सन्दर्भमा सरकारको निर्णय स्वागतयोग्य भएको जनाएका हुन ।

मन्त्रीपरिषदको २०७३ साउन ७ गतेको बैठकले क्लिन फिड नीति पारित गरेको थियो । सरकारले विज्ञापन सम्वन्धी व्यवस्था गर्न बनेको विधेयकमा ‘क्लिन फिड’ नीति लागू गर्ने व्यवस्था गरेको छ । नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कडेल, बानका अध्यक्ष चन्द्र न्यौपाने, एकोर्याव अध्यक्ष सुवास खतिवडा र आनका अध्यक्ष रविन्द्रकुमार रिजाल (शशी) द्धारा हस्ताक्षरित विज्ञप्तीमा स्वदेशी उत्पादन र उद्योगलाई समेत यो नीतिले सहयोग र विस्तारका लागि प्रवद्र्धन गर्ने र परनिर्भरतलाई समेत कम गर्न सघाउ पुर्याउने उल्लेख छ । बिज्ञप्तीमा यो कामका लागि प्रधानमन्त्री केपी शर्मा ओली र सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई धन्यवादसमेत दिइएको छ ।

विदेशी च्यानलमा विज्ञापनरहित स्वच्छ र छनोट गरिएको सामाग्रीमात्र हेर्न पाउनु प्रत्येक नेपाली नागरिकको अधिकार हो भन्दै यो कानून लागु भएपछि पैसा तिरेर पनि अन्य मुलुकको विज्ञापन हेर्नुपर्ने वाध्यकारी व्यवस्थाको अन्त्य हुने विज्ञप्तीमा उल्लेख छ । राज्यले आफ्नो देशको भाषा, संस्कृति र व्यवसायको प्रवद्र्धन र सम्वद्र्धनका लागि यो व्यवस्था गर्नैपर्ने भन्दै ती संघसंस्थाहरुले क्लिन फीड लागू भएपछि नेपाली कला, संस्कृति र सिर्जनशीलताको समेत विकासमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरेका छन् ।

मिडिया सोसाइटीसहित चार ओटै संस्थाले क्लिनफिल्ड लागू गर्ने निर्णयलाई लिएर सरकारको पक्षमा दृढताका साथ उभिएको हो । केही केबुल सञ्चालकहरु क्लिनफिल्डको बिपक्षमा उभिएको बेला चार ओटै संस्थाले क्लिनफिल्डको पक्षमा आफूलाई उभ्याएका हुन ।