जनता टाइम्स

१२ असार २०७६, बिहीबार ०८:५४

पाकिस्तानको सेमिफाइनल पुग्ने सम्भावना कायमै, इग्ल्याण्ड भने दवावमा


काठमाडौं, असार ११

बाबर अजमले उत्कृष्ट शतक प्रहार गरेपछि न्यूजिल्याण्डलाई ६ विकेटले पराजित गरी पाकिस्तानले इंग्ल्याण्डमा जारी एकदिवशीय विश्वकपको सेमिफाइनल प्रवेशको आशा कायमै राखेको छ ।

न्यूजिल्याण्डले भने सेमिफाइनलका लागि छनोट हुने अवसर खेर फाल्यो । जारी विश्वकपमा न्यूजिल्याण्डको सातौं खेलमा पहिलो पराजय हो । यो नतिजासँगै इग्ल्याण्डलाई भने दवाव सिर्जना भएको छ । समान ७ खेलबाट न्यूजिल्याण्डको ११ अंक छ भने पाकिस्तानको ७ अंक भएको छ । इग्ल्याण्डको ९ अंक रहेको छ । पाकिस्तानका लागि अफगानिस्तान र बंगलादेशविरुद्धको बाँकी दुई खेलमा जित हासिल गर्नु सेमिफाइनलको दौडमा अनिवार्य हुनेछ ।

न्यूजिल्याण्डले दिएको २३८ रनको मध्यम लक्ष्य पछ्याएको पाकिस्तानले सुरुवाती २ विकेट सस्तैमा गुमाएको थियो । फकर जमान ९ र इमाम उल हक १९ रनमा आउट हुँदा पाकिस्तान ४४–२ को अवस्थामा थियो । त्यसपछि बाबर र मोहम्मद अफिजले तेस्रो विकेटका लागि ६६ रनको साझेदारी गरे । न्यूजिल्याण्डका कप्तान केन विलियमसनको बलमा अनावश्यक शट खेल्ने क्रममा अफिज ३२ रनको स्कोरमा आउट भएपछि आएका ह्यारिस सोहेलसँग मिलेर बाबरले १२६ रनको शतकीय साझेदारी गरे ।

बाबरले १२७ बलमा १०१ रन बनाउने क्रममा ११ चौका प्रहार गरे । सोहेलले ७६ बलमा ५ चौका र २ छक्काको सहयोगमा ६८ रन बनाए । जितका लागि २ रन बाँकी हुँदा उनी रनआउट भएका थिए । बलिङमा न्यूजिल्याण्डका ट्रेन्ट बोल्ट, लोकी फर्गुसन र विलियमनसनले १–१ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले मध्यक्रमका कोनिल डी ग्राण्डहोम र जिम्मी निसमको उत्कृष्ट प्रदर्शनमा ६ विकेट गुमाएर २३७ रनको योगफल खडा गरेको थियो । पाकिस्तानी किशोर स्पिनर साहिन साह अफ्रिदीले उत्कृष्ट बलिङ गरी सुरुवाती ३ विकेट लिएपछि न्यूजिल्याण्डको पारी सुरुमै लडखडाएको थियो ।

मोहम्मद अमिर र सदाव खानले एक एक विकेट लिँदा न्यूजिल्याण्ड ८३–५ को कठिन स्थितिमा पुगेको थियो । तर, निसम र ग्राण्डहोमले छैटौं विकेटका लागि १ सय ३२ रनको साझेदारी गरेपछि न्यूजिल्याण्डले सम्मानित योगफल बनाएको हो । निसमले अन्तिम बलमा छक्का प्रहार गरी ११२ बलमा ५ चौका र ३ छक्काको सहयोगमा अविजित ९७ रन जोडे । निसमको यो करिअरकै उत्कृष्ट प्रदर्शन हो । ६४ रन जोडेका ग्राण्डहोमले ७१ बलमा ६ चौका र १ छक्का प्रहार गरे ।