जनता टाइम्स

६ मंसिर २०७८, सोमबार १५:१९

महाधिवेशनबाट एमाले जनताको पार्टी भन्ने पुष्टि गर्छौं : शंकर पोखरेल


काठमाडौं, मंसिर ६ । नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले एमालेका कार्यकर्तासँग मात्र जनपरिचालनको सामर्थ्य भएको बताउनुभएको छ । वुद्धिजिवी संगठनको कार्यक्रममा सम्बोधन गर्दै नेता पोखरेलले आसन्न महाधिवेशनमा चितवनमा देखिने भीडले त्यसलाई पुष्टि गर्ने समेत जीकिर गर्नुभयो ।

‘गोदावरीको विधान अधिवेशन र चितवनमा हुन गइरहेको राष्ट्रिय अधिवेशनका विशेषताहरू फरक छन् । हामीले विधान अधिवेशनमा कार्यकर्ताको सहभागितालाई जोड दियौं । राष्ट्रिय महाधिवेशनमा जनताको परिचालनमा जोड छ ।’ महाधिवेशन उद्घाटन समारोहमा नारायणी किनारमा हुने देशभरका ५ लाखभन्दा बढीको जमघट हुने भन्दै पोखरेलले भन्नुभयो , ‘मास बेस क्याडर्स पार्टी अर्थात् हाम्रा कार्यकर्ताहरू जनताको परिचालनको सामर्थ्य राख्छन् भन्ने देखाउँन जरुरी छ ।’केही पार्टी एमालेभन्दा बढी सदस्य बनाउँछु भन्दै हिँडेको पोखरेलले बताउनुभयो ।

माओवादीले ३०र३२ लाख सदस्य पुर्‍याउने भनेकोतर्फ उहाँले भन्नुभयो, ‘एमालेसँग मिलेर चुनाव लड्दा १३ लाख मत ल्याएको होइन । यदी नेता–कार्यकर्ता धेरै छन् तर जनतासँग सम्बन्ध छैन भने । त्यो मास बेस क्याडर्स होइन ।’पार्टी सदस्य जति छन् त्यति पनि भोट नआउने पार्टीको अर्थ नभएको उनको भनाइ छ । ‘अहिले हामीसँग जति कार्यकर्ता छन् । त्योभन्दा धेरै गुणा जनपरिचालन गर्छन् भन्ने देखाउँनुछ ‘, पोखरेलले बताउनुभयो ।