जनता टाइम्स

१२ असार २०७६, बिहीबार १३:३५

पाँच घण्टापछि खुल्यो अवरुद्ध पृथ्वी राजमार्ग, डुवानमा पर्यो बैरेनी बजार


धादिङ, असार १२

बुधबार रातिदेखि परेको अबिरल बर्षासँगै आएको बालुवा मिश्रित लेदोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग पाँच घण्टापछि खुलेको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित स्थानीयबासीले ४ घण्टा लगाएर सडकमा जमेको लेदो हटाएपछि यातायात सुचारु भएको हो ।

धादिङको गल्छी गाउँपालिका ६ बैरेनीबजारबाट गाउँ गाउँ जाने शाखा सडकहरू जताभावी खोल्दा पानीसँगै राजमार्गमा लेदो थुप्रिन आइपुगेको हो । गाउँ गाउँ जाने शाखा सडकहरूसँगै अवैधानिक बालुवा खानी पनि रहेको र अविरल वर्षातका कारण बालुवाखानीबाट बालुवाहरु बगाएर ल्याउदा विहान ४ बजेदेखि नै राजमार्गमा थुप्रिन पुगेको थियो । बालुवाको लेदोमा दर्जन भन्दा बढी सवारी साधन ५ घण्टासम्म फसेका थिए ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासीले डोजरको सहायतामा पाँच घण्टापछि अवरुद्ध राजमार्ग विहान ९ बजे खुलाएका थिए । बिहान ४ बजेदेखि नै राजमार्ग अवरुद्ध हुदाँ राजधानी आउने र राजधानीबाट बाहिरिएकासवारी साधनहरु बीचमा नै रोकिएका थिए ।

राजमार्गलाई छेडेर जथाभावी गाउँतिर लगिएका ग्रामीण सडक, सडक भन्दामाथि तिर खोलिएका बालुवा उत्खनन केन्द्रका कारण सामान्य वर्षात हुँदा पनि भल बाढीले लेदो बगाउँदै राजमार्गमा ल्याई र्पुयाउने गरेको छ। भलबाढीसँगै आएको बालुवाको लेदोले बैरेनीबजारका घरहरू पनि डुबानमा परेका छन ।

गल्छी गाउँपालिकाको केन्द्र रहेको बैरेनीबजारको दायाँबायाँको सडक खण्डमा भलबाढी बग्दा सडक नदी जस्तै हुन पुगेको थियो । त्यस्तै पृथ्वी राजमार्ग अन्तर्गतकै गजुरी गाउँपालिका वडा नं ६, जहरेमा पनि सडकमा लेदो थुप्रिएको थियो ।