जनता टाइम्स

८ मंसिर २०७८, बुधबार ०७:५६

सवारी दुर्घटनामा माओवादी केन्द्रीय सदस्य बन्जाडेको निधन


बुटवल, मंसिरि ८ । नेकपा माओवादी केन्द्रका नेता रामप्रसाद बञ्जाडे ‘टंकमणिु को सवारी दुर्घटनामा निधन भएको छ । माओवादी केन्द्रीय सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज बञ्जाडे बुटवलको जितगढीमा मंगलबार साँझ दुर्घटनामा पर्नुभएको थियो ।

सवारी दुर्घटनामा परी गम्भीर घाइते उनको बुधबार बिहान ५ बजे बुटवलको मर्सिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । पार्टी कामकै शिलशिलामा उहाँ दाङबाट बुटवल फर्किदै हुनुहुन्थ्यो। बञ्जाडे सवार लु २६ प ५८९८ नम्बरको मोटरसाइकललाई ना ५ ख ९०६ नम्बरको यात्रुबाहक बसले बुटवलको जितगढीमा ठक्कर दिएको थियो । जितबहादुर रानामगरले चलाएको मोटरसाइकलमा उहाँ पछाडि सवार हुनुहुन्थ्यो । दुर्घटनामा रानामगरसमेत घाइते हुनुभएको छ ।

बुटवलको जितगढीका स्थायी बासिन्दा रहेका ५६ वर्षीय बञ्जाडेका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ । बञ्जाडेको निधनप्रति नेकपा माओवादी केन्द्र रुपन्देहीले गहिरो दुःख प्रकट गरेको छ । उहाँको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको माओवादी केन्द्र रुपन्देहीले जनाएको छ । बन्जाडेको निधनप्रति सो पार्टीका विभिन्न जगवर्गीय संगठन एवं विभिन्न दलका नेताले दुःख प्रकट गर्दै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरेका छन् ।