जनता टाइम्स

८ मंसिर २०७८, बुधबार ११:५६

रघुवीर महासेठको ठोकुवा : भीम रावलले उम्मेवारी फिर्ता लिनुहुन्छ


काठमाडौं, ८ मंसिर । नेकपा एमालेका स्थायी समिति सदस्य रघुवीर महासेठले केपी ओली एमालेको आवश्यकता भएकाले उहाँले नै सहयोगी टिम छान्न पाउनुपर्ने बताउनुभयो । उहाँले पार्टीको दसौं राष्ट्रिय महाधिवेशनमा अध्यक्षदेखि सबै पदमा सर्वसम्मति हुने ठोकुवा पनि गर्नुभयो । नेपाली रेडियो नेटवर्क को कार्यक्रम नेपाली बहसमा कुरा गर्दै नेता महासेठले भन्नुभयो , “अहिले देश र पार्टीको आवश्यकता भनेको केपी ओली हो, अरु कोही होइन । आम प्रतिनिधिले उहाँको भावना बुझेका छन् । त्यसैले दसौं राष्ट्रिय महाधिवेशनमा कुनै पनि प्रकारको निर्वाचन हुँदैन । तलदेखि माथिसम्मै सर्वसम्मति हुन्छ ।”

चुनावै भए पनि आफू प्रतिस्पर्धाबाट नभाग्ने उनले दाबी गरे । उनले भने, “एमालेको इतिहास हेर्दा निर्वाचन पनि भएको छ, सर्वसम्मति पनि भएको छ । हलभित्र नछिरेसम्म म कुनै निर्णय लिन्नँ । मंसिर ११ गते बिहान महाधिवेशन हलभित्र छिरेपछि म कार्यकर्ताको भावना बुझ्छु । निर्वाचन हुने स्थितिमा म भाग्दिनँ । निर्वाचन भए फेस गर्छु ।” उहाँले थप्नुभयो , “नेतृत्वले सहयोगी को को चाहिन्छ, त्यो छान्न पाउनुपर्छ । पार्टीभित्र सर्वसम्मति भयो भने म त्याग गर्न सक्छु ।

निर्वाचन भयो भने विचार गर्छु । म समर्थक र शुभचिन्तक भएर पनि बस्न सक्छु । मलाई केन्द्रीय सदस्य पनि चाहिँदैन । पार्टीलाई आवश्यक व्यक्तिलाई पद दिने हो । हामी त सहयोग शक्ति हौं ।”नेता महासेठले आम कार्यकर्ताको भावना कुल्चेर भीम रावलले केपी ओलीविरुद्ध उम्मेदवारी दिन नसक्ने बताए । उनले भने, “भीम रावलले अध्यक्ष ओलीलाई चुनौती दिनुभएको होइन, इच्छा जाहेर मात्र गर्नुभएको हो । अरु साथीहरुले पनि सोझै वा घुमाएर इच्छा जाहेर गर्नुभएको छ । त्यसैले अहिले कोही उम्मेदवार छैन । उहाँले एक्लै जित्ने होइन, प्रस्तावक, समर्थक र मत पनि चाहिन्छ । कार्यकर्ताको भावना कुल्चेर उम्मेदवारी दिनुहुन्छ भन्ने लाग्दैन । भीम रावलले आफ्नो उम्मेवारी २ सय प्रतिशत फिर्ता लिनुहुन्छ ।”