जनता टाइम्स

८ मंसिर २०७८, बुधबार १५:४३

एम्बुलेन्समा बिहेको समान भेटिएपछि…


दार्चुला, ८ मंसिर । एम्बुलेन्समा बिहेको समान ओसारेको भन्दै विप्लव तेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले एम्बुलेन्सलाई नियन्त्रणमा लिएका छन् । लेकम गाउँपालिकाको एम्बुलेन्सले मंगलबार राति बिहेको समान बोकिरहेको अवस्थामा मालिकार्जुन गाउँपालिका–४ ऐरिछानाबाट विप्लव समूहले नियन्त्रणमा लिएको हो ।

गाउँपालिकाको एम्बुलेन्सले व्यक्तिगत समान बोकिरहेको भन्ने जानकारी पाएपछि यात्रु र समान बोकिरहेको अवस्थामा नियन्त्रणमा लिएको नेपाल कम्युनिष्ट पार्टी विप्लवका लेकम गाउँपालिका इन्चार्ज भुवन जोशीले जानकारी दिनुभयो । गाउँपालिकाको एम्बुलेन्सले पटक–पटक व्यक्तिगत समान बोक्ने गरेको र बिरामीलाई चाहिएको बेला नपाइने स्थानीयको गुनासो आएपछि नियन्त्रणमा लिएको उहाँको भनाइ छ ।

बिहेको समान र ६ जना यात्रु बोकेर मालिकार्जुन गाउँपालिका–४ ऐरिछानाबाट लेकम गाउँपालिका–४ खरकडातर्फ गइरहेको लेकम गाउँपालिकाको सु.प.प्र ०२००१ च ८५० नम्बरको एम्बुलेन्स ऐरिछाना क्षेत्रबाटै राति १० बजे नियन्त्रणमा लिएको जोशीले बताउनुभयो । यात्रुलाई अर्को जिपमा घर पठाएको र एम्बुलेन्सको चाबी आफूहरूसँग रहेको उहाँले बताउनुभयो ।

‘एम्बुलेन्स लिनका लागि हालसम्म कसैले सम्पर्क गरेका छैनन्, आगामी दिनमा दुरुपयोग नहुने सर्तमा सम्बन्धित व्यक्तिलाई चाबी बुझाउने तयारीमा छौँ,’ जोशीले भन्नुभयो । एम्बुलेन्स विप्लव समूहले नियन्त्रणमा लिएको विषयमा कुनै औपचारिक जानकारी नआएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी पुस्कर सिंह ऐरीले बताउनुभयो ।