जनता टाइम्स

१३ असार २०७६, शुक्रबार ०९:०८

गृहको गाडीलाई कारवाही गर्ने ट्राफिक प्रहरीलाई सडकमै सम्मान


काठमाडौं, असार १३

नियम मिचेर सडकमै पार्किङ गरिएको गृह मन्त्रालयको सवारीलाई कारवाही गर्ने ट्राफिक प्रहरीलाई युवाहरुको एक समुहले सडकमै सम्मान गरेको छ । सिंहदरबारको पूर्वी गेट अगाडिको सडकमा अनाधिकृत रुपमा पार्किङ गरेर राखिएको गाडीमा लक हालेर महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी जवानले कारवाही गरेका थिए।

बा २ झ ४३८८ नम्बरको सरकारी गाडीमा लक लगाएपछि गृहका कर्मचारीको हप्कीदप्की पनि खेपेका टीकाराम बुढा र जवान कमलेश कुमारले एक हजार रूपैयाँ जरिवाना तिराएर मात्रै छाडेका थिए। ट्राफिक प्रहरीलाई युवाहरुले सडकमै दोसल्ला ओढाएर सम्मान गरेका हुन् । ती ट्राफिकले ह्वील लक गरेपछि गृहका कर्मचारीले कारवाही गर्ने भन्दै धम्क्याएका थिए ।