जनता टाइम्स

१४ मंसिर २०७८, मंगलवार ०८:२०

लियोनल मेस्सीलाई सातौँ पटक बालोन डी ओर अवार्ड


काठमाडौं, १४ मंसिर । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीका फरवार्ड लियोनल मेस्सीले बालोन डी ओर अवार्ड जितेका छन् । अर्जेन्टिनाका लियोनल मेस्सीले सन् २०२१ को उत्कृष्ट खेलाडी बन्दै बालोन डी ओर अवार्ड जितेका हुन् । फ्रेन्च फुटबलले गएराति विशेष समारोहकाबीच मेस्सीलाई बालोन ुडीु ओर अवार्ड प्रदान गरेको छ । मेस्सीले रोबर्ट लेवान्डोस्की र जोर्गिन्होलाई पछि पार्दै अवार्ड जितेका हुन् ।

योसँगै मेस्सीले कीर्तिमानी सातौँ पटक बालोन ुडीु ओर अवार्ड प्राप्त गरेका छन् । यसअघि मेस्सीले सन् २००९, २०१०, २०११, २०१२, २०१५ र २०१९ मा यो अवार्ड जितेका थिए । मेस्सी बालोन डी ओर जित्ने पीएसजीका पहिलो खेलाडी समेत बनेका छन् ।

म्यानचेस्टर युनाइटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डो छैटौँ स्थानमा रहे । मेस्सीले आफ्नो कप्तानीमा अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाएका थिए । फ्रेन्च फुटबलले खेल पत्रकार, राष्ट्रिय टिमका कप्तान र प्रशिक्षकहरुको भोटको आधारमा विजेता घोषणा गरेको हो ।

महिलातर्फको बालोन डी ओर अवार्ड बार्सिलोनाकी एलेक्सिया पुटेलासले जितिन् । यस्तै जर्मन क्लब बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले स्ट्राइकर अफ दि इयरु प्राप्त गरेका छन् । क्लब अफ दि इयरको अवार्ड चेल्सीले जितेको छ ।