जनता टाइम्स

१६ मंसिर २०७८, बिहीबार १६:३२

बुलबुल निर्देशकले ६ करोड लागतमा ‘रबर सिटी’ बनाउँदै, छायांकन अमेरिकामा हुने


काठमाडौं, १६ मंसिर । सन् २०१९ मा बुलबुल फिल्मको निर्देशन गरेर पहिलो चलचित्रबाटै राष्ट्रिय अवार्ड पाएका निर्देशक विनोद पौडेलले आफनो दोस्रो चलचित्र ‘रबर सिटी’ घोषणा गरेका छन् । बुधवार सो चलचित्रको पोष्टर सार्वजनिक गर्दै निर्माता अविरल थापाले आगामी मार्चमा यसको सम्पूर्ण छायाँकन अमेरिकामै हुने जानकारी गराउनुभयो ।

थापासँगै यस चलचित्रका अन्य निर्मातामा राजु पौडेल, भक्त रिजाल, किर्तना बाँस्कोटा र यातिन पर्खानी हुनुहुन्छ । निर्माता थापाले हाल यसको तयारीको लागि निर्देशक पौडेल अमेरिकामै रहेको र अनुमानित पाँच लाख डलर (रु छ करोड) मा निर्माण सम्पन्न गर्ने आँकलन गरिएको बताउनुभयो ।

यस चलचित्रमा हालसम्म मुख्य भूमिकामा साँघुरो चलचित्रमा काम गरिसकेका सुशांक मैनाली र राधा लम्साल भावु तय भएको र बाँकी कलाकार भने नयाँ नै हुने विनोद पौडेलले बताउनुभयो । अमेरिकाको ओहायो राज्य अन्तर्गतको एक्रोन शहरलाई पहिले रबर सिटी भनिन्थ्यो र भुटानी शरणार्थीलाई पुनर्वास गराएपछि सो सहर पुन गुलजार बनेको थियो ।

यस चलचित्रले भुटानी शरणार्थीको पुनर्वासपछिको कथा भन्नेछ । यस चलचित्रको कथा पटकथा पनि निर्देशक पौडेलले नै लेख्नुभएको हो । अमेरिकामै रहनुभएको अंकित पौडेलले यसको छायाँकन आफै गर्नुहुनेछ । चलचित्रले विश्वबजारमा नेपाली चलचित्रलाई स्थापित गराउने विश्वास लिएको र निर्माण कार्यलाई दु्रत गति दिन फेब्रुवरीमा अमेरिका प्रस्थान गर्न लागेको निर्माता थापाले जानकारी दिनुभयो ।