जनता टाइम्स

१६ मंसिर २०७८, बिहीबार १७:२५

बिदामा बस्दिनँ : प्रधानन्यायाधीश चोलेन्द्र


काठमाडौं, १६ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफू विदामा नबस्ने बताउनुभएको छ । भोली नै अस्पतालबाट निवास फर्कने भन्दै सर्वोच्च अदालतका न्यायाधीशहरुलाई बिदामा नबस्ने जानकारी गराउनुभएको हो । सर्वोच्च अदालतका न्यायाधीशहरुको भेलामा एक न्यायाधीशसँग टेलिफोनमा कुरा गर्दै जबराले आफ्नो स्वास्थ्य अवस्था सुधार भएकाले निवास फर्कने तयारीमा रहेको जानकारी गराउनुभएको हो ।

कोरोना संक्रमणपछि गत सोमबारदेखि प्रधानन्यायाधीश जबरा बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा भर्ना हुनुभएको छ । आज न्यायाधीशहरुको छलफलका क्रममा न्यायाधीश हरिकृष्ण कार्कीले प्रधानन्यायाधीश जबरालाई फोन गर्नुभएको थियो ।

उक्त क्रममा जबराले आफू संक्रमित भएर अस्पतालमा उपचाररत रहेको, भोली नै निवास फर्किने भनी जवाफ दिएको भनी कार्कीले अरु न्यायाधीशहरुलाई जानकारी गराउनुभएको थियो । यता बारले प्रधानन्यायाधीश जबराको राजीनामा नआएसम्म सर्वोच्च अदालत परिसरमा धर्ना जारी राख्ने जनाएको छ । साथै प्रधानन्यायाधीश जबरा इजलासमा संलग्न भएमा त्यो इजलास समेत बहिस्कार गर्ने चेतावनी दिएको छ ।