जनता टाइम्स

१८ मंसिर २०७८, शनिबार १६:५१

महाधिवेशनलगत्तै फेरियो एमाले इलामको नेतृत्व, अध्यक्षमा महेश बस्नेत


इलाम, मंसिर १८ । नेकपा एमाले जिल्ला कमिटी इलामको अध्यक्षमा महेश बस्नेत चयन हुनुभएको छ । पार्टी सचिवालय बैठकले शनिवार बस्नेतलाई अध्यक्षको जिम्मेवारी दिएको हो । बस्नेत यसअघि जिल्ला कमिटीको सचिव हुनुहुन्थ्यो ।

नेकपा एमाले इलामका अध्यक्ष राम राना चितवनमा सम्पन्न दशौँ महािधवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि बस्नेतलाई अध्यक्षको जिम्मेवारी तोकिएको हो । एमालेको उपाध्यक्षमा निर्वाचित भक्त केशी नेकपा एकिकृत समाजवादीमा लागेपछि उपाध्यक्ष पद पनि रिक्त रहेको छ । एमाले इलामको सचिवालय बैठकले अन्य जिम्मेवारी पनि हेरफरेर गरेको छ ।

एमालेले संगठन विभागको जिम्मेवारी उपसचिव उमेश गुरुङ्गलाई तोकेको छ । त्यस्तै, प्रचार विभाग प्रमुखको जिम्मेवारी प्रकाश अधिकारीलाई दिएको छ । बुद्धिजिवी विभागको प्रमुखमा नरेन्द्रनाथ भट्टराईलाई तोकेको छ भने अर्थ विभाग प्रमुखको जिम्मेवारी डा. देवी क्षेत्री दुलाललाई सुम्पेको छ । यी विभागको प्रमुखमा रहेकाहरू माथिल्लो कमिटीमा निर्वाचित भएपछि विभागीय जिम्मेवारी हेरफेर भएको नेकपा एमाले इलामका उपसचिव उमेश गुरुङ्गले जानकारी दिनुभयो ।

यस्तै, आजकै बैठकले अखिल नेपाल महिला संघको इञ्चार्जमा रिपल राई, खेलकुद महासंघमा दीपक गौतम, सूर्योदय नगरपालिकाको इञ्चार्जमा महेश बस्नेत, इलाम क्षेत्र नम्बर २ को इञ्चार्जमा नरेन्द्रनाथ भट्टराईलाई तोकेको छ ।