जनता टाइम्स

१३ असार २०७६, शुक्रबार १६:४४

देउवाले गरे सरकार ढाल्ने योजनामा कांग्रेस लागिसकेको खुलासा


काठमाडौं, असार १३

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्ने गृहकार्यमा आफूहरु लागिसकेको खुलासा गर्नुभएको छ । बिगत केही समयदेखि संसदीय अभ्याशबिपरित काम गर्दै सरकारलाई अप्ठ्यारोमा पारिरहेको प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहनुभएका देउवाले आज पार्टी निकट स्थानीय तहका कर्मचारीसामु आफूहरु ओली सरकार ढाल्ने खेलमा लागिसकेको खुलासा गर्नुभएको हो ।

‘लोकतन्त्रको लागि राणा ढालेको कांग्रेसले पञ्चायतलाई ढाल्यो, राजतन्त्रलाई ढाल्यो भने केपी ओली नेतृत्वको सरकारलाई ढाल्न कुनै समस्या छैन,’ आफूहरु सरकार ढाल्ने षडयन्त्रमा रहेको प्रष्ट संकेत गर्दै देउवाले भन्नुभयो । ओली नेतृत्वको सरकार गठन भएलगत्तैदेखि कांग्रेसले कहिले डा गोबिन्द केसी त कहिले माइतीघर मण्डला देखाएर काममा सकेसम्म अवरोध गर्दै आएको छ । पछिल्लो समय गुठी बिद्येयकलाई लिएर देखिएको असन्तुष्टिलाई सरकारबिरुद्ध प्रयोग गर्न चाहेपनि कांग्रेस सफल हुन सकेन ।

सरकार ढाल्ने खेल सुनाउँदा देउवाले लोकतन्त्रको आवरण देखाउनु भएको थियो । लोकतन्त्रमाथि प्रहार गरिरहे सरकार ढाल्ने उहाँको घोषणा थियो । सभापति देउवाले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार हुने गरी सरकारले ल्याएको विधेयकहरु कुनै पनि हालत पारित हुन नदिने अडान पनि सुनाउनु भयो ।

उहाँले कांग्रेस निकट कर्मचारीहरुलाई सरकारले धेरै दुःख दिने गरेको भन्दै आक्रोश पोख्नुभयो । साथसाथै उहाँले वर्षौदेखि स्थानीय तहमा काम गर्दैै आएका अस्थायी कर्मचारीहरुलाई स्वतः स्थायी नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने धम्की दिनुभयो ।