जनता टाइम्स

१९ मंसिर २०७८, आईतवार १६:२९

बिमानस्थलबाट प्रहरी नै पक्राउ


काठमाडौं, मंीसर १९ । सुन तस्करी गर्न सघाएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान पक्राउ परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईका अनुसार तस्करी अभियोगमा शुक्रबार एक प्रहरी जवानलाई नियन्त्रणमा लिएको हो।

लागुऔषध नियन्त्रण ब्युरोबाट विमानस्थलमा खटिएका रूकुमका राजेन्द्र केसी पक्राउ परेका हुन्। गत शुक्रबार दुबईबाट आएका ताप्लेजुङका दुर्गाधन लिम्बूले ५० ग्राम सुन ल्याएको र सो सुनको भन्सार छल्न प्रहरी जवान केसीले सघाएको आरोप लागेको हो। भन्सार प्रशासक भट्टराईका अनुसार उनले ५० ग्राम सुन ल्याएबापत ४८ हजार ६५ रुपैयाँ भन्सार तिर्नुपर्छ।

तर सो छली गरी ल्याएको आरोप लागेपछि प्रहरीले छानबिन गरी उनीहरू दुबैलाई नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाएको हो। अहिले उनीहरूलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ। यद्यपि उनीहरूले ल्याएको सुन परीक्षण गर्न ल्याबमा राखिएको प्रहरीले जनाएको छ।