ओखलढुंगा, मंसिर २० । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा ओखलढुंगाका दुई युवा नेता तथा एक जना नेतृले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । जिल्ला सभापति प्रदीपकुमार सुनुवार र संविधान सभाका सदस्य रामहरि खतिवडाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको हो । यसैगरी नेपालपत्रकार महासंघकी उपाध्यक्ष बाला अधिकारीले पनि केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने निर्णय गर्नुभएको छ । अधिकारी, खतिवडा र सुनुवार तिनै जना सभापति शेरबहादुर देउवा निकट रहेको ओखलढुंगा कांग्रेसका नेताहरुले बताएका छन ।
सभापति शेरबहादुर देउवा निकट सुनुवार ओखलढुंगामा दुई कार्यकाल सभापति भई जिल्ला सदरमुकाममा पार्टी कार्यालय भवन निर्माण गरेका तथा आफ्नो समूहका नेताहरूलाई जिल्ला अधिवेशनमा पदाधिकारी निर्वाचित गराउन सफल व्यक्ति हुनुहुन्छ । उहाँ अल्पसंख्यक कोटामा केन्द्रीय सदस्य चुनाव लड्ने हुनुभएको छ । जिल्लामा आफ्नो गुट स्थापित गर्न १० वर्ष योगदान गरेका नेता सुनुवारलाई देउवाले आफ्नो समूहबाट केन्द्रीय सदस्यको उम्मेदवार बनाउने निश्चित रहेको नेताहरूको भनाइ छ ।
त्यस्तै पूर्व सांसद तथा युवा नेता रामहरि खतिवडाले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको छ । सञ्चार माध्यममार्फत सहमहामन्त्री दाबी गर्दै आएका खतिवडा युवा पुस्तामा चर्चित हुनुहुन्छ। उहाँ पनि संस्थापन पक्षका नेता हुन् । फरक गुटका नेताहरूसँग पनि उहाँको उत्तिकै नजिकको सम्बन्ध रहेको कार्यकर्ताहरू बताउँछन्। सहमामन्त्रीमा सिनियर नेताहरूलाई व्यवस्थापन गर्न चुनौती देखिएपछि उहाँ केन्द्रीय सदस्य लड्ने तयारीमा हुनुहुन्छ । ‘सहमहामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेको थिएँ । साथीभाइ, शुभेच्छुक, टिमभित्रका नेताहरूको सुझाव र परामर्शमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने निर्णय गरेको छु,’ खतिवडाले भन्नुभयो । १३औँ महाधिवेशनमा खतिवडा देउवा टिममा नपर्दा थोरै मतले पराजित हुनुभएको थियो ।
यस्तै बाला अधिकारीले महिला केन्द्रीय सदस्यमा उम्मेद्वारी दिन लाग्नुभएको हो । लामो समयदेखि पत्रकारितासँगै कांग्रेसको राजनीतिमा सक्रिय अधिकारी अहिले पत्रकार महासंघको केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ । अधिकारी पत्रकार महासंघ भन्दा राजनीतिलाई नै अघि बढाउने योजनाका साथ ओखलढुंगाबाट महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभएको छ । उहाँ कांग्रेसको १३औं महाधिवेशनमा पनि महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभएको थियो । नेपाल प्रैस युनियनको केन्द्रीय उपाध्यक्षसमेत रहनुभएकी नेतृ अधिकारीले पार्टी राजनीतिमा होमिने घोषणा गर्दै पत्रकार महासंघको उपाध्यक्षबाट राजीनामा दिने प्रष्ट संकेत गरिसक्नु भएको छ ।
अधिकारीले फेसबुकमार्फत आफ्नो धारणा राख्दै भन्नुभएको छ, ‘म नेपाल पत्रकार महासंघको केन्द्रीय उपाध्यक्ष भएको नाताले नेपाल पत्रकार महासंघको बिधान,आचार संहिताको पालना गर्नु मेरो प्रमुख कर्तब्य रहेको कुरा मलाइ हेक्का छ।नेपाल पत्रकार महासंघको २६औ महाधिबेशनमा मलाइ आफ्नो अमुल्य मतदिएर महासंघको नेतृत्वमा पुर्याउनुहुने संपुर्ण मतदाताहरुमा हार्दिक आभार ब्यक्त गर्दछु।म महासंघको नेतृत्वमा नरहेपनि तपाइहरुको मतको उच्च सम्मान गर्दै हर हमेशा तपाइहरुको माझ सुस्ख दुस्खमा साथ रहने प्रण गर्दै अबको मेरो गन्तब्य पार्टि राजनिति तिर !’













प्रतिक्रिया दिनुहोस्