जनता टाइम्स

२१ मंसिर २०७८, मंगलवार १६:४९

मनाङका प्रशिक्षक फुजा आइपुगे नेपाल


काठमाडौं, २१ कात्तिक । आठौं पटकको सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब (एमएमसी) का प्रशिक्षक फुजा तोपे नेपाल आइपुग्नुभएको छ । आज नाईजेरियन नागरिक फुजा नेपाल झर्नुभएको हो । मनाङले यस सिजनका लागिसमेत प्रशिक्षक फुजासँग सम्झौता नविकरण गरेको थियो ।

तर, लिग नभएपछि उहाँ गृहनगर रहँदै आउनुभएको थियो । लिग हुने तयारी भएसँगै फुजालाई मनाङले नेपाल झिकाउने प्रयास गरे पनि सफल हुन सकेको थिएन । फुजालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा मनाङका व्यवस्थापक रामबहादुर गुरुङ र टिम कोर्डिनेटर मिलन गुरुङ (ज्याक) ले स्वागत गर्नुभयो । जारी लिगमा मनाङले तीन खेल खेल्दा टोलीको प्रशिक्षकमा राजेन्द्र तामाङ हुनुहुन्छ । फुजाको आगमनपछि पनि मनाङको मुख्य प्रशिक्षकमा भने तामाङ नै रहनुहुने छ ।

फुजाले पछिल्लो दुई सिजनसमेत मनाङकै प्रशिक्षक रहेर काम गर्नुभएको थियो । २०७५ सालको लिगमा मनाङले कीर्तिमानी आठौंपटक लिग जित्दा फुजा टोलीको मूख्य प्रशिक्षक हुनुहुन्थ्यो । यद्यपि, उहाँ ‘ए’ लाइसेन्स नभएका कारण पेपरमा ‘हेड कोच’ नभए पनि टोलीको मूख्य रणनीतिकारका रूपमा परिचित हुनुहुन्छ । यस्तै मनाङले २०७७ सालको लिगमा समेत फुजालाई नै निरन्तरता दिएको थियो ।

यसअघि नेपालमा भएको पहिलो फ्रेन्चाईज नेपाल सुपर लिग (एनएसएल) मा उपविजेता धनगढी एफसीको प्रशिक्षक तथा रणनीतिकारको रूपमा फुजा नै हुनुहुथ्यो । मूख्य प्रशिक्षकमा भने युगल किशोर राई रहनुभयो । फुजाको आगमनसँगै मनाङले लिगमा आफ्नो दाबेदारीता अझै मजबुद हुने आशा गरेको छ । जारी लिगमा दुई जित र एक बराबरसहित मनाङ ७ अंक जोडेर दोस्रो स्थानमा छ ।