जनता टाइम्स

२१ मंसिर २०७८, मंगलवार २०:०१

सर्वाेच्चले उल्ट्यायो देउवा सरकारको निर्णय : स्काउट संयोजक भण्डारीलाई पुनर्वहाली गर्न आदेश


काठमाडौं, मंसिर २१ । सर्वोच्च अदालतले नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारीलाई हटाउने सरकारको निर्णय उल्ट्याइ दिएको छ । अदालतले सरकारको निर्णय गैरकानूनी ठहर गर्दै भण्डारीलाई पुनर्वहाली गर्न अन्तरिम आदेश दिएको हो ।

न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले मंगलवार भण्डारीसहितको तत्कालीन कार्य समितिलाई पुनर्वहालीको लागि आदेश दिएको हो । तात्कालिन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका पदाधिकारी हटाउने क्रममा युवा तथा खेलकुद मन्त्रालयको सिफारिसमा सरकारले भण्डारीलाई नेपाल स्काउटको संयोजकबाट हटाएको थियो ।

सरकारको सो निर्णविरुद्ध भण्डारी अदालत गएपनि लामो समय अदालतमा हड्तालका कारण मुद्दाको सुनुवाई हुन समय लागेको हो । भण्डारीका पक्षमा अधिवक्ता रुद्र पोखरेल लगायतले वहस गर्नुभएको थियो । सरकारका नाममा कारण देखाउ आदेश समेत जारी गर्दै दुवै पक्षलाई छलफलका लागि बोलाइएको छ ।