जनता टाइम्स

२१ मंसिर २०७८, मंगलवार २१:१४

सहमति नजिक छौं, भोलिसम्ममा साझा उम्मेदवार : रामचन्द्र पौडेल


काठमाडौं, २१ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भोलि सम्ममा साझा उम्मेदवार छान्ने दाबी गर्नुभएको छ । पार्टीको १४ औं महाधिवेशनमा संस्थापनइतर पक्षबाट साझा उम्मेदवार तय गर्न भन्दै आज चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको बैठकपछि नेता पौडेलले सहमतिमै साझा उम्मेदवार तय हुने बताउनुभएको हो ।

नेता पौडेलले आफूहरु सहमतिको नजिक पुगेको दाबी गर्नुभयो । ‘हामी सहमतिको निकै नजिक पुगेका छौं’ बैठकपछि पौडेलले भन्नुभयो,‘भोलिसम्म हाम्रो निर्णय बाहिर आउँछ ।’ साझा उम्मेदवार तय गर्न केही प्रकृया पूरा गर्न बाँकी रहेको उहाँको भनाइ थियो ।

बैठकपछि महामन्त्री डा. शशांक कोइरालाले आफूले सभापतिमा दाबी छाडेको बताउनुभएको थियो । संस्थापन इतरबाट अब रामचन्द्रका साथै शेखर, प्रकाशमान सभापतिको आकांक्षी छन् ।