जनता टाइम्स

२२ मंसिर २०७८, बुधबार ०७:२९

तीन रेडकार्ड निस्किएको खेलमा एथ्लेटिकोले पोर्टोलाई हरायो


काठमाडौं, २२ मंसिर । तीन रेडकार्ड निस्किएको खेलमा जित निकाल्दै एथ्लेटिको मड्रिड युइएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । मंगलबार राति पोर्चुगल राजधानी पोर्टोमा भएको खेलमा एफसी पोर्टोलाई ३–१ गोल अन्तरले पराजित गर्दै एथ्लेटिको समूह ‘बी’ बाट उपविजेताको रुपमा नकआउट चरणमा स्थान बनाएको हो । तनावपूर्ण स्थितिको खेलमा दुबै टोली १० खेलाडीमा सीमित भएका थिए । ३ रातो कार्ड देखिईएको खेलमा दोस्रो हाफमा दुबै टोली १० खेलाडीमा खेले ।

खेल सुरु नहुँदै पोर्टोका बेन्च गोलरक्षक अगुस्टिन मार्चेसिनले रातो कार्डको सामना गरे । खेलको ६७ मिनेटमा एथ्लेटिकोको यान्निक कारास्सोले रातो कार्डको सामना गर्दा पोर्टोका विनडेलले ७० मिनेटमा रातो कार्ड पाए । निर्णायक खेलमा एथ्लेटिकोलाई जिताउँन एन्टोइन ग्रिजम्यान, एन्जेल कोरेया र रोड्रिको डे पाउलले १–१ गोल गरे । पोर्टोका लागि सर्जियो ओलिभिराले इन्जरी समयमा सान्त्वना गोल गरे ।

पहिलो हाफ गोलरहित बरारबीमा सकिएको अवस्थामा दोस्रो हाफमा ग्रिजम्यानले ५६ मिनेटमा अग्रता दिलाए । ९० मिनेटमा एन्जेलले गोल गर्दा दोहोरो अग्रता बन्यो । इन्जुरी समयमा रोड्रिगोले गोल गर्दै एथ्लेटिकोलाई ३–० को अग्रता दिलाए । इन्जुरी समयको अन्तिम मिनेटमा पोर्टोका सर्जियोले गोल गरेपनि त्यो जितको लागि पर्याप्त रहेन ।

मंगलबार राति नै भएको समूह ‘बी’ को खेलमा लिभरपुलले एसि मिलानलाई २(१ अन्तरले पराजित गर्दै शतप्रतिशत जितलाई निरन्तरता दियो । जितसँगै ६ खेलबाट १८ अंक बनाएको लिभरपुल शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गर्‍यो भने ७ अंकका साथ उपविजेताको रुपमा एथ्लेटिको नटआउट चरणमा स्थान बनायो । पराजित पोर्टो ५ अंक र ४ अंकको मिलान क्रमशः तेस्रो र चौथो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिए ।