जनता टाइम्स

२३ मंसिर २०७८, बिहीबार ०८:५१

१७ वर्षपछि बार्सिलोना समूह चरणबाटै बाहिर


काठमाडौं, २३ मंसिर । पाँच पटकको युरोपियन च्याम्पियन बार्सिलोना बायर्न म्युनिखसँग पराजित हुँदै १७ बर्षपछि च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ । सन् २००३/०४ पछि पहिलो पटक बार्सिलोना अन्तिम १६ मा स्थान बनाउन असफल भएको हो । यसै वर्ष आर्थिक समस्याका कारण स्टार खेलाडी लियोनल मेस्सीलाई गुमाएको बार्सिलोनाको लागि यो अर्को खराब स्थिति हो ।

बुधबार राति बायर्न म्युनिखको घरेलु मैदान एलिएन्ज एरिनामा भएको खेलमा बार्सिलोना ३–० ले पराजित भयो । समूह ‘इ’कै अर्को खेलमा बेन्फिकाले ड्यनामो केईभलाई २–० अन्तरले पराजित गरेपछि पूर्वखेलाडी जाभि होर्नाण्डेजको बार्सिलोना १७ बर्षपछि च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिन बाध्य भयो । बायर्नको जितमा थोमस मुलर, लिरोए साने र जमल मुसिएलाले गोल गरे ।

३४औँ मिनेटमा थोमस मुलरले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । ४३औँ मिनेटमा सानेले गोल गर्दै अग्रता दोहोरो बनाए । ६२औँ मिनेटमा जमलले गोल गर्दै बायर्नलाई ३–० अन्तरको जित दिलाए । समुहको अर्को खेलमा बेन्फिकाले ड्यनामोलाई २-० अन्तरले पराजित गर्दै समूह उपविजेताको रुपमा अन्तिम १६ मा स्थान बनायो ।

बेन्फिकाको जितमा रोमन यारेमचुक र गिल्बर्टो जुनियरले गोल गरे । जितसँगै बायर्नले ६ खेलबाट अपराजित रहँदै १८ अंक जोडेर शीर्ष स्थानमा रह्यो । बेन्फिका ८ अंक बनाउँदै दोस्रो स्थानमा रहँदै उपविजेता भयो । ७ अंक भएको बार्सिलोना र १ अंकको ड्यनामो भने प्रतियोगिताको समूह चरणबाटै बाहिरिए ।