काठमाडौं, २४ मंसिर । १४औँ महाधिवेशन सुरु हुनुअघि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटारमा आन्तरिक परामर्शमा हुनुहुन्छ । पदाधिकारीमा उम्मेदवारका आकांक्षी बढी भएपछि सकस भइरहेका बेला देउवाले आफू पक्षीय पदाधिकारी र नेताहरूसँग आन्तरिक परामर्श गरिरहनुभएको हो । संस्थापन पक्षबाट देउवा सभापतिका उम्मेदवार भए पनि सबैभन्दा बढी चासो महामन्त्रीमा छ ।
महामन्त्रीमा बालकृष्ण खाँण, ज्ञानेन्द्र कार्की, विश्वप्रकाश शर्मा, प्रकाशशरण महत, एनपी साउँद लगायतले दाबी गरिरहनुभएको छ । नेता कृष्ण सिटौला समूहले पनि संस्थापन पक्षतिर झुकाव राखेकाले उक्त समूहलाई मिलाउनुपर्ने बाध्यता देउवालाई छ । सिटौलाले उपसभापतिसहितका पद मागिरहनुभएको छ । उक्त समूहबाट प्रदीप पौडेल पनि महामन्त्रीका आकांक्षी हुनुहुन्छ । त्यस्तै, सभापतिको साझा उम्मेदवारबारे निर्णय गर्न नसकेको संस्थापन इतरको पनि आज बैठक बस्दैछ ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आज बिहान बत्तिसपुतलीमा बैठक बोलाउनुभएको हो । संस्थापन इतरबाट वरिष्ठ नेता पौडेलसहित प्रकाशमान सिंह, शेखर कोइराला तथा शशांक कोइरालाले सभापतिमा दाबी गरिरहनुभएको छ । सहमति जुटन नसकेपछि सिंहले शनिबार उम्मेदवारीसँगै अवधारणा सार्वजनिक गर्ने बताइसक्नुभएको छ । शेखरले पनि सामाजिक सञ्जालमा ‘एक पटक यसै पटक’ भन्दै प्रचार अभियान थालिसक्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्